करिव दशक अघिदेखि बाँझिएको जमिनमा फलेवासका जाँगरिला अगुवा र गाउ“लेहरु मिलेर व्यवसायिक कागति खेती शुरु गरेका छन् । फलेवास–८ का योगेन्द्र रिजाल, देविप्रसाद तिमिल्सिना, कमल रिजाल, रमेश रिजाल लगायतले १२ हेक्टर जमिनमा उन्नत जातको कागतिको व्यवसायिक खेती गरेका हुन् ।
योगेन्द्र ग्रामिण विकास विषयमा विद्यावारिधि उपाधिप्राप्त हुन् भने देविप्रसाद करिव दुई दशकदेखि बिभिन्न गैरसरकारी क्षेत्रमा कार्यरत ग्रामिण विकासविज्ञ हुन् । तिमिल्सिना फलेवास नगरपालिकाको निवर्तमान नगरप्रमुखको सचिवालयका योजना तथा कार्यक्रमका विज्ञ सल्लाहकार समेत हुन् । उनिहरुले वर्षौदेखि बाँझो रहेको जमिनको उपयोग गर्दै माटो सुहाउँदो कागतीखेती शुरु गरिएको बताएका छन् । फलेवास–८ अर्चलेका १२ परिवार यो खेतीमा संलग्न छन् । सबै परिवारको अधिकांस जमिन बाँझिएको लामो समय भइसक्यो । कतिपय जमिनमा झाडी र बुट्यानले ढाकेको थियो । सबै झाडी र बुट्यान हटाएर १२ हेक्टर जमिनमा पाँच हजार चार सय कागती र एक हजार हाराहारी सुन्तला समेत रोप्ने तयारी भएको किसानहरुले बताएका छन् । खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि त्यसलाई आयआर्जनका लागि प्रयोग गर्न कागती खेती गर्न लागिएको उनिहरुले बताए । ग्रामिण विकास बिज्ञ डा. रिजालले आफ्नो लामो समयको अनुभव र सीपजाँगर गाउँमै लगानी गर्ने उद्देश्यले अरु दुई जनालाई साथमा लिएर खेती गरेको बताए ।
उनिहरुको यो खेतीले गाउँमा अथाह सम्भावना सहितको जमिन बाँझो राखेर सहरमा सामान्य जागिर खोज्दै भौतारिने युवाहरुलाई प्रेरणा दिन्छ । सम्भावनासहितको गाउँमा खेर गएको त्यही जग्गालाई उपयोग गर्न सके आम्दानी गाउँमै सम्भव छ भन्ने विश्वासका आधारमा खेती शुरु गरिएको ग्रामिण डा. रिजालले बताए । आफुले सन् २०१३ मा ग्रामीण विकास विषयमा विद्यावारिधि गरेपछि पनि बजारमा बसेर जागिरको खोजीमा हराउनु भन्दा ग्रामीण क्षेत्रमा पनि सम्भावना देखाउन चाहेको उनको भनाई छ । ‘हाम्रो महत्वपुर्ण स्रोत भनेकै पुर्खाले जोडेको जमिन हो,’ उनले भने,‘ यस्तो खेतीयोग्य जमिन खेर फालेर अमूल्य सम्पत्ति नदेख्ने अनि शहरमा भौतारिनेहरुका लागि केहि देखाऔं भनेर लागिपरेको हुँ । मलाई थाहा छ । यसबाट राम्रो प्रतिफल आउँछ ।’ उनिहरुले ‘अर्चले एग्रो इन्डस्ट्री प्रा.लि.’ नामको कम्पनी दर्ता गरे खेती शुरु गरेका हुन् । नगदेबाली लगाउने योजनामा साथ दिंदै धान, मकै लगायत तीन खेती हुने करिव एक हेक्टर जमिन समेत किसानले यहि खेतीका लागि कम्पनीलाई दिएका छन् । कम्पनीले सबै किसानको जग्गा शुरुमा २० वर्षका लागि भाडामा लिएर खेती शुरु गरेको हो ।
लगानीकर्ता देवि तिमिल्सिनाका अनुसार अर्चले एग्रो इन्डस्ट्रीले कागती खेतीबाट पाँच वर्षमा डेढ करोडको लगानी गर्ने योजना छ । कागतीको राष्ट्रिय आवश्यकताको केहि प्रतिशत आपुर्ति गर्ने उनिहरुको योजना छ । हाल भइरहेको भारत लगायतका बिदेशी बजारबाट हुने कागतिको आयात प्रतिस्थापनमा सघाउ पु¥याउने आफुहरुको योजना रहेको लगानीकर्ता रमेश रिजाल बताउँछन् । उनिहरुले हावापानी र तापक्रमको परिक्षणपछि सुन कागती–१ जातको कागती लगाएका हुन् । यो जातको कागतीले रोपेको छोटो समयमै राम्रो उत्पादन दिने र लामो समयसम्म उत्पादन दिने तिमिल्सनाले बताए । आगामी सात वर्षपछि वार्षिक दुई सय टन कागती उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । कलमी बिरुवा लगाएकोले फल दिन शुरु गरिसकेको छ । आगामी तीन वर्षपछि लगानी फिर्ता हुन शुरु गर्ने उनिहरुको अपेक्षा छ । उत्पादित कागतीलाई काठमाडौं, पोखरा लगायतका ठूला सहरमा पठाउनेगरि व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ ।
गाउँलेहरुलाई कागतिको व्यवसायिक खेती गर्न सोडेक नेपाल नामक संस्थाले उत्प्रेरित गरेको हो । करिव डेढ दशकअघि गाउँ वरपरको गौचरनलाई अन्त्य गर्दै सोडेकले किसानलाई सुन्तला खेतीमा प्रोत्साहन गरेको थियो । सुन्तला खेती बिस्तार भएसंगै किसानले सृजनशिल बहुउद्देश्यिय सहकारी मार्फत तरकारी र फलफुलको व्यवसायिक खेतीलाई किसानले निरन्तरता दिएका थिए । बिस्तारै व्यवसायिकरणमा लाग्दैगर्दा गाउँका युवा अवसरको खोजीमा पलायन भएपछि भिरालो जमिन बाझिंदै गएको थियो । किसानको यो अभियानमुलक खेतीका लागि नगरपालिकाले पनि १० लाख सहयोग गरेको छ । फलेवास नगरपालिकाले संघिय सरकारको शसर्त कार्यक्रम मार्फत सहयोग गरेको तिमिल्सिनाले बताए ।
इकान्तिपुर डटकमबाट साभार ।