बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024
Home Featured News कुश्मा नगरपालिका :कक्षा ८ जस्तै अन्य कक्षाको परीक्षा पनि स्थानिय तहले लिने

कुश्मा नगरपालिका :कक्षा ८ जस्तै अन्य कक्षाको परीक्षा पनि स्थानिय तहले लिने

by sambridhaonline

पर्वत : कक्षा आठको वार्षिक परीक्षालाई मात्रै स्थानीय तह स्तरीय बनाउँदै आएको पर्वतको कुश्मा नगरपालिकाले अब अन्य कक्षाका वार्षिक परीक्षाहरूलाई पनि स्थानीय तह स्तरमा सञ्चालन गर्ने भएको छ।

नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीका अनुसार नगरपालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षा शाखाका कर्मचारीबीच हालै सम्पन्न भएको बैठकबाट यो निर्णय भएको हो।

कक्षा तीनसम्म निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली कायम रहेकोले कक्षा चारबाट लागू हुने गरी परीक्षाको तयारी गरिएको हो। कक्षा १० को अन्त्यमा हुने एस.ई.ई र कक्षा ११ को अन्त्यमा हुने परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आइरहेको छ।

‘कक्षा आठको अन्त्यमा हुने बी.एल.ई लाई नगर स्तरीय परीक्षाका रूपमा सञ्चालन गर्दै आइरहेका थियौँ। अब भने कक्षा चारदेखि ११ सम्म नै पालिका स्तरीय वार्षिक परीक्षा चलाउने तयारी गरिएको छ’, उनले भने, ‘आठमा चलेकै थियो। १० र ११ को परीक्षा माथिबाटै चल्छ। तर ११ को विद्यालयले चलाउने परीक्षा भने यसमा समावेश हुने भएको छ।’

कक्षा आठको अन्त्यमा लिइने परीक्षाका लागि तयार हुने प्रश्नावली र परीक्षाको स्तर एकै हुने भए पनि अन्य कक्षाका परीक्षामा एकरूपता कायम नहुँदा सिकाइ स्तरको मापन गर्न पनि कठिनाइ भइरहेको अवस्थामा यो निर्णय भएको हो। नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ बताउँछन्।

विद्यालय फरक भए पनि पाठ्यक्रम एउटै हो। तर, परीक्षा सञ्चालनदेखि प्रश्न पत्रमा एकरूपता भएन भन्ने गुनासो शिक्षकहरूबाट आएपछि यो अभ्यास थालिएको उनको भनाइ छ।

२०७४ सालबाट नगरपालिका स्तरमा कक्षा आठको परीक्षा निरन्तर सञ्चालन हुँदै भएको पनि यो अभ्यास नगरपालिकाका लागि नयाँ भएको गुरुङले बताए।

‘कक्षा चारदेखि ११ सम्म एउटा परीक्षाका लागि करिब २५ सय विद्यार्थीहरू रहेको इमिस अपडेटमा देखिएको छ। यति विद्यार्थीका लागि परीक्षा सहज रूपमै सञ्चालन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘एउटै नगरपालिकाभित्रका उस्तै विद्यालयमा किन फरक प्रश्न गर्ने? परीक्षाको समय तालिका किन फरक गर्ने? भनेर यो अभ्यास थालेका हौँ।’

कक्षा ११ को परीक्षामा भने अनिवार्य तीनवटा विषयहरूको मात्रै प्रश्न पत्र नगरपालिकाले तयार गर्ने छ। सुरुवाती अवस्थामा अनिवार्य विषयको प्रश्नमा रहने एकरूपताबाट आएको नतिजाको विश्लेषणको आधारमा अतिरिक्त विषयमा कार्यान्वयन गर्ने गुरुङले बताए।

परीक्षा सञ्चालनका लागि शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीको अध्यक्षतामा नगरपालिकाको सामाजिक विकास समितिका संयोजकसहित शिक्षा शाखाका कर्मचारी र केही प्रधानाध्यापकहरूलाई समावेश गरेर नौ सदस्यीय समिति निर्माण भएको छ।

नागरभित्र रहेका विद्यालयहरूको परीक्षा प्रणाली एकै खालको हुनुपर्ने माग राख्दै आएकोमा यो कार्यान्वयनमा आउनु खुसीको कुरा भएको समितिका सदस्य तथा सदरमुकामस्थित नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेल बताउँछन्।

यो परीक्षा प्रणालीमा जिल्लाका निजी विद्यालयहरू समावेश हुने नहुने भन्ने बारेमा भने छलफल चलिरहेको छ। सामान्यतया निजी विद्यालयहरूले अन्तिम परीक्षापछि विद्यार्थीलाई घरमा रहनको लागि धेरै समय नहोस् भन्ने उद्देश्यले शैक्षिक सत्र सम्पन्न हुने बेलासम्म नै परीक्षा सञ्चालन गर्न चाहन्छन्। तर सामुदायिक विद्यालयहरूमा भने एस.ई.ई. परीक्षा सञ्चालन गर्नका लागि केन्द्र रहने भएका कारण समस्या हुने गरेको सामुदायिक विद्यालयहरू बताउँछन्।

सकेसम्म निजी विद्यालयहरूलाई पनि एकै खालको परीक्षा प्रणालीमा समावेश गरिने समितिका अध्यक्ष तिवारीको भनाइ छ।

‘पाठ्यक्रम सबैका लागि एकै हुने भए पनि पाठ्यपुस्तक भने फरक फरक प्रकाशकहरूका प्रयोगमा रहेका कारण कतिपय प्रश्नहरू टेक्स्ट रिलेटेड हुँदा समस्या आउन सक्ने देखिन्छ। अब विस्तारै सबैले एउटै प्रकाशकका पुस्तक प्रयोग गर्न सकेमा एकरूपता कायम गर्न सहज हुन्छ’, उनले भने, ‘निजी विद्यालयहरूसँग हामी कुरा गरिरहेका छौँ। उहाँहरूको विषयमा निर्णय भइसकेको छैन। तर कम्तीमा पनि सामुदायिक विद्यालयहरूमा रहने एकरूपता पनि उपलब्धिमूलक हो।’

एकै प्रकारका प्रश्न पत्रबाट विद्यार्थीको मापन गर्दा विद्यालयहरूको सिकाइ उपलब्धि स्तर कुन अवस्थामा छ भन्ने कुरा पनि थाहा पाउन सकिने तिवारी बताउँछन्।

सघन न्यूजबाट साभारगरिएको

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline