साउन २७ , पोखरा – सँगै काम गरी बस्ने साथीलाई धारिलो चक्कु प्रहार गरी हत्या गरेको आरोपमा बागलुङको काठेखोला गाउँपालिका ३ धम्जाबाट एक युवा पक्राउ परेका छन् । प्रहरीले मंगलवार राती ढोरपाटन नगरपालिका ५ का २५ बर्षिय अर्जुन घर्तीलाई पक्राउ गरेको हो । मंगलवारै बडिगाड गाउँपालिका १ बाट जवरजस्ती करणी गर्नेलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर त्वातीले जानकारी दिनुभयो । हत्याको सूचना पाएपछि मंगलवार राती नै धम्जा पुगेर प्रहरीले घर्तीलाई पक्राउ गरेको हो ।
मंगलबार राती पौने १० बजे घर्तीले छिमेकी ४० बर्षको अशोक खत्रीलाई हत्या गरेको प्रहरीले बतायो । ढोरपाटन नगरपालिका ५ घर भएपनि एकसाता देखि काठेखोलामा आएर दुवै जना ज्याला मदजुरीको काम गर्दै आएका थिए । उक्त स्थानको निर्मल आधारभूत बिद्यालयको पुरानो भवनमा बस्दै काम गरिरहेका थिए ।