माघ १७ , पोखरा – आज कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ती क्षेत्रका एक÷दुई ठाउँमा छिटपुट वर्षाको पनि हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । तराइका धेरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । गएको मङ्गलबार र बुधवार देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपातले प्रभावित भएको जनजीवन भने सामान्य बनेको छ ।
वरिष्ठ मौसमविद् वरुण पौडेलले धेरै ठाउँमा घाम लागे पनि बिहान बेलुका भने चिसो नै रहेको हुँदा जोगिन आग्रह गर्नुभएको छ ।
२ महिना अगाडि
माघ १६,पोखरा – देशभर विभिन्न कार्यक्रम गरी आज शहीद दिवस मनाइँदैछ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अरू शहीदहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै शहीदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।
हरेक वर्ष माघ १६ गते मनाइने शहीद दिवसमा प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदहरूको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिन्छ ।
माघ १५ – कोलम्बियाको उत्तरी क्षेत्रमा एक यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको ज्यान गएको छ । कोलम्बियाको सरकारी स्वामित्वको विमान सेवा कम्पनी साटेनाले दुर्घटनाको पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साटेनाका अनुसार बीच क्राफ्ट १९०० मोडेलको विमान दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
दुर्घटनाग्रस्त विमानको भग्नावशेष पहाडी क्षेत्रमा फेला परेको बीबीसीले जनाएको छ । विमानमा १३ जना यात्रु र २ जना चालक दलका सदस्य थिए । यात्रुहरूमा सांसद डिओजेनेस क्विन्टेरो अमाया र आगामी संसदीय चुनावका उम्मेदवार कार्लोस साल्सेडो पनि रहेको खबरमा उल्लेख छ ।
माघ १४ , पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि कास्की जिल्लामा २ हजार २ सय ९९ जना म्यादी (निर्वाचन) प्रहरी छनोट भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्की अन्तर्गतको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले मंगलबार अन्तिम नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी दुई समूहमा विभाजन गरेर जनशक्ति छनोट गरिएको छ ।
समितिले नेपाल प्रहरीतर्फ खटाउने गरी २ हजार ८ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ खटाउने गरी २ सय ९१ जना मुख्य उम्मेदवार छनोट गरेको छ । यसरी कास्कीमा २ हजार २ सय ९९ जनाले म्यादी प्रहरीको रूपमा निर्वाचनमा खटिने अवसर पाएका छन् ।
यस्तै, समितिले केही उम्मेदवारहरूलाई वैकल्पिक सूचीमा राखेको छ । प्रकाशित नतिजा अनुसार योग्यताक्रमका आधारमा २ सय १२ जना लाई वैकल्पिक उम्मेदवारका रूपमा छनोट गरिएको छ । मुख्य उम्मेदवारहरू अनुपस्थित भएको खण्डमा वा अन्य कारणले कोटा रिक्त भएमा वैकल्पिक सूचीबाट पदपूर्ति गरिनेछ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालका अनुसार छनोट प्रक्रियाका सबै चरण (शारीरिक तन्दुरुस्ती, लिखित तथा अन्तर्वार्ता) उत्तीर्ण गरेका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको हो ।
प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु
माघ १३ , पोखरा – आउँदो फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु भएको छ । आवश्यक झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
अबको १५ दिनभित्र मतपत्र छपाइको काम सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । आउँदो फागुन ५ गतेभित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने उहाँले जानकारी दिनुभयो ।
यसअघि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिकतर्फ आवश्यक २ करोड ८ लाख ५० हजारभन्दा धेरै मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
माघ १२ , पाेखरा – आज रातिदेखि मौसम बदली भएर भोलि र पर्सि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिदेखि नै पश्चिमी भेगबाट बादल लाग्न शुरु भइ भोलिदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद् सन्दीप अधिकारीका अनुसार भोलि पश्चिमी तराईका केही ठाउँमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । यो प्रणाली पर्सि बुधवारसम्म बागमती र कोशी प्रदेशसम्म फैलिने र धेरै ठाउँमा हल्का वर्षा र हिमपात हुने अनुमान छ ।
काठमाण्डौ उपत्यकामा पनि पर्सि बुधवार पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । पर्सि बुधवार बेलुकीदेखि मौसममा सुधार आउनेछ । यसअघि गएको शुक्रवार र शनिवार पनि मौसम बदली भएर पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपात भएको थियो ।
आज दिनभर कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र गण्डकीका बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।
माघ ११ – अफगानिस्तानमा बुधवार र बिहीवार भएको ठूलो हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको ज्यान गएको छ । आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
समाचार संस्था एएफपीका अनुसार प्रारम्भिक तथ्याङ्कले मृतकको सङ्ख्या ६१ र घाइतेको सङ्ख्या १ सय १० जना भन्दा धेरै रहेको देखाएको छ । विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रमा ठूलो हिमपात र चिसोको सामना गर्नुपरेको छ ।
जसका कारण राजधानी काबुल र कैयौँ प्रान्तहरूबीचको महत्त्वपूर्ण सञ्जालसहित धेरै प्रमुख राजमार्ग र सडकहरू बन्द भएका छन् ।
माघ १० , पाेखरा – साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले आफ्नो पाँचाैँ खेलमा बङ्गलादेशलाई हराएकाे छ ।
थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गाेलले हरायाे । नेपालका लाक्पा तामाङ, सराेज तामाङ, सञ्जय स्याङ्तान र विक्रान्त नरसिंह रानाले गाेल गरे । बङ्गलादेशका एमडी रहबर वाहेद खानले गाेल गरे ।
प्रतियोगितामा नेपालकाे याे दाेस्राे जीत हाे । नेपाल यसअघि नै उपाधि प्रतिस्पर्धाबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलले हराउँदा दोस्रो खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेको थियो । यस्तै नेपालले तेस्रो खेलमा पाकिस्तानसँग ४–४ गोलको बराबरी खेल्दा चाैथाे खेलमा माल्दिभ्ससँग २–१ गाेलले पराजित भएकाे थियाे ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् ।
लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।
माघ १० , पोखरा – देशका पश्चिमी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुम्लामा हिमपात भएको छ ।
गएको भदौदेखि पानी नपरेको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुशी भएका छन् । हिमपात भएसँगै नाम्खा गाउँपालिका र त्यहाँबाट हिल्सा जाने बाटो पूर्णरूपमा बन्द भएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँहरुमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा मध्यम हिमपात र वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
अहिले पश्चिमी वायुको प्रभावले मौसम बदली भएको र भोलिसम्म केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
एनसेल छैटौं टाइगर कप भलिबल सुरु, पहिलो दिन आर्मी, एपीएफ र न्यु डायमण्ड विजयी
माघ ९ , पोखरा – पोखरामा ‘एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल प्रतियोगिता’ बिहीबारदेखि भव्य रूपमा सुरु भएको छ। ‘टाइगर ग्रुप अफ पोखरा नेपाल’ को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्नुभयो । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ विभागीय टोलीहरू ‘एपीएफ क्लब’ र ‘नेपाल आर्मी’ ले विजयी सुरुवात गरेका छन् भने महिलातर्फ ‘न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब’ ले जित दर्ता गरेको छ। उद्घाटन खेलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ एपीएफ क्लबसँग ३–१ को सेटमा पराजित भयो। एपीएफले पहिलो सेट २५–२३ ले जिते पनि दोस्रो सेट २७–२५ ले गुमाएको थियो। त्यसपछिका तेस्रो र चौथो सेटमा क्रमशः २५–१९ र २५–१९ ले जित निकाल्दै एपीएफले खेल आफ्नो पक्षमा पार्यो। सो खेलमा एपीएफका उपेन्द्र परियार ‘प्लेयर अफ द म्याच’ बन्नुभएको छ ।
पुरुषतर्फकै अर्को खेलमा नेपाल आर्मी क्लबले पाहुना टोली माल्दिभ्स भलिबल क्लबलाई २५–१५, २५–२२ र २५–१० को सोझो सेटमा हरायो। आर्मीका सुनिल बोहोरा ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै ‘केल्मी’ को टिसर्ट प्राप्त गर्नुभयो । महिलातर्फ भएको खेलमा ‘टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब’ ले २५–१३, २५–१६ र २५–८ को सेटमा सहज जित निकाल्यो। न्यु डायमण्डकी सालिना बुढा मगर सो खेलमा ‘प्लेयर अफ द म्याच’ भइन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले खेलकुद स्वास्थ्यका लागि मात्र नभई राष्ट्रको अर्थतन्त्र उकास्ने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाले नेपालको भौगोलिक अवस्था अनुसार भलिबल सबैको पहुँचमा रहेको र यसको लोकप्रियता बढ्दै गएको उल्लेख गर्नुभयो । ‘नेपाल जस्तो भौगोलिक र सानो ठाउँमा समेत भलिबल खेल्न सकिने र सबैको पहुँचमा भएकाले यसको लोकप्रियता बढेको छ,’ भट्टले बताउनुभयो ।
‘एनसेल’ का मुख्य कार्यकारी अधिकृत (सिइओ) माइकल फोलिनले पर्यटकीय सहर पोखरामा भलिबल प्रतियोगिताको उद्घाटनमा सहभागी हुन पाउँदा गौरव महसुस भएको बताउनुभयो । उहाले नेपाली युवाले मुलुकको परिवर्तनका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालीहरू प्रकृति र संस्कृतिका साथै मनका पनि धनी रहेको धारणा राख्नुभयो । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले यस प्रतियोगिताले नेपाली भलिबलको विकासमा योगदान पुर्याएको भन्दै सातै प्रदेशमा खेल मैदान निर्माणका लागि संघले पहल गरिरहेको जानकारी दिनुभयो । टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले विषम परिस्थितिमा पनि प्रतियोगितालाई निरन्तरता दिँदै टाइगर कपलाई एउटा ‘ब्रान्ड’ का रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।