माघ १०,पोखरा – कास्कीको पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आईटी महोत्सव शुरू हुँदैछ ।
नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा व्यापार मेलासँगै १२ औं क्यान इन्फोटेक तथा चौथो मोबाइल एक्सपो–२०२५ आयोजना गरिएको छ ।
‘लगानीको सम्बर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ नाराका साथ आयोजना भएको मेलामा औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवर्द्धन तथा बजारीकरण, अन्य प्रदेशका निजी क्षेत्रले अवलम्बन गरेका असल अभ्यास, आवश्यक सहकार्य र गण्डकीमा लगानी आकर्षित गर्ने उदेश्य रहेको आयोजक पोखरा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
मेलामा देशका सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनको प्रदर्शनी, औद्योगिक उत्पादन, घरायसी सामान, कम्प्यूटर र मोबाइल, पुष्प प्रदर्शनीलगायत रहेका छन् ।
गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगको उत्पादन, रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी, प्रविधि र अरु ठाउँमा भइरहेका असल अभ्यासलाई समावेश गर्ने सक्दो प्रयास गरिएको आयोजकले जनाएको छ ।
मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिनुभयो । सङ्घका महासचिव शोभा गौतमका अनुसार मेलामा निजी क्षेत्रबीच सहकार्य र सम्भावनाबारे पनि छलफल हुनेछ ।
प्रचार–प्रसार संयोजक तथा सङ्घका कार्यसमिति सदस्य मनोहरि पौडेलका अनुसार मेलामा विश्वस्तरमा चल्तीमा रहेका आर्टीफिसियल इन्टलिजेन्स (एआई), उन्नत सीसी टीभी सर्भिलेन्स पनि उपलब्ध हुनेछन् । मेला आउँदो २१ गतेसम्म चल्नेछ ।