चैत २६,पोखरा- दैनिक ३२ उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एउटा पनि उडान भएन । अघिल्लो दिन आइतबार मुस्किलले आधाआधी उडान भएका थिए । यसबाहेक सामान्य समयमा पुरानो विमानस्थलमा १० वटा नियमित उडान हुन्छ भने दर्जनौँ पटक हेलिकोप्टर उडान हुन्छ ।
मंगलबारको सेड्युल पनि ठप्प छ । छेन्दुबाट पोखरामा हुने सिचुआन एयरलाइन्सको चार्टर उडान बुधबारका लागि सरेको छ । बुधबार पनि उडान हुने ग्यारेन्टी छैन । मौसम खराबीका कारण विमानस्थलको तालिका बिग्रिएको हो ।‘मौसम खराब छ । भिजिबिलिटी नै छैन’, विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले ढोरपाटनसंग भने, ‘आज पनि फ्लाइट सेड्युल ठप्प छ ।’ आजभोलि बिहानको फ्लाइट लगभग स्थगित भएका छन् । जसले गर्दा यात्रुहरू दिनभरि विमानस्थल कुरेर फर्किन बाध्य छन् ।
पोखरामा विमान सुरक्षित उडानका लागि २७ सय र अवतरणका लागि सामान्यतः ३ हजार मिटर भन्दा बढी भिजिबिलिटी आवश्यक पर्छ । तर, हाल दिनभर बाक्लो तुवाँलोले गर्दा भिजिबिलिटी २ हजार भन्दा कम हुन थालेको छ । विमानस्थलका अनुसार कहिलेकाहीँ १ किलोमिटर भन्दा पनि कम हुन्छ ।
‘उडान नहुनुको एक मात्र कारण भिजिबिलिटी हो । केही दिनयता पोखराको भिजिबिलिटी हजार बाह्र सय मिटर छ’, उनले भनिन्, ‘यति कम भिजिबिलिटीमा उडाउन सकिँदैन ।’ उनका अनुसार केही दिन यता पोखराको आकाशमा धुवाँ र धुलोको मात्रा अत्यधिक देखिएको छ ।
अहिले पोखराको वायु गुणस्तर सूचकाङ्क रेड जोनमा पुगेको छ । मंगलबार बिहानैदेखि एक्यूआई १५० भन्दा माथि छ । यो चिन्ताजनक तथ्यांक हो । एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २०० सम्म पुगे अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि पुगेपछि घातक हुन्छ ।