असार १६,पोखरा – पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाँचौं हेमजा हिलो महोत्सव– २०८२ सम्पन्न गरेको छ ।
आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो। दिनभरको झरी नभनी महोत्सवमा पाकादेखि युवा, केटाकेटीसम्म रमाइलो गरे । अन्नपूर्ण, माछापुच्छ्रे साथै पोखरा महानगरका छिमेकी वडाका नागरिकहरूको पनि बाक्लो उपस्थिति देखियो ।
करिब ११ बजे स्थानीय देवीस्थान माई मन्दिरमा भेला भए । त्यहाँबाट कृषि झाँकी सहितको शोभा यात्रामा सहभागी हुँदै देवीस्थान मार्ग हुँदै मिलनचोक परिक्रमा गरी महोत्सव स्थलमा पुगे । महोत्सव स्थल ध्वजापताका र सहयोगदाताका ब्यानरबाट सिँगारिएको थियो । विगत वर्षको तुलनामा निकै फरक र व्यवस्थित देखियो ।
महोत्सवमा समाजले हिले दौड, रस्साकस्सी , झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूहबीच असारे भाका, तथा माछा समाउने लगायतका प्रतियोगिता सम्पन्न गरेको छ ।
महोत्सवलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले हेमजाको पहिचानसँग हेमजामा विभिन्न समयमा हुने अन्य महोत्सव जसरी नै हिले महोत्सव जोडिएको र आफ्नो छुटै मौलिकता महत्त्व रहेको बताउनुभयो ।