जेष्ठ १७,पोखरा – फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले शनिबारदेखि मापदण्डभित्र पोल गाडेर सीमाङ्कन सुरू गरेको छ। पोल गाड्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मेयर धनराज आचार्य, कास्कीका सिडिओ भरतमणि पाण्डे लगायत सुरक्षा निकाय प्रमुखहरू, जनप्रतिनिधि, ताल संरक्षण अभियानकर्मी लगायतको सहभागिता रहेको थियो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे संयोजकत्वमा गठित समितिले तालको क्षेत्रफल छुट्याएर पोल गाड्न सुरू गरेको हो । सुरक्षाकर्मीको दलबलसहित बाराहीघाटमा १ नम्बरको पिल्लर गाडेर सिमांकनको सुरुवात गरिएको छ । समितिले गरेको अध्ययन अनुसार फेवातालको बर्खायाममा पानी भरिएका बेला फेवातालको क्षेत्रफल ६ हजार ३४३ वर्ग मिटर रहेको छ ।
सर्वोच्च अदालतले तोकेको बर्खायामको पानीले भरिएको ताल किनारबाट ६५ मिटर मापदण्ड छुट्याउँदा तालको क्षेत्रफल ७ हजार ६१६ वर्गमिटर हुन आएको छ। तालघर छुट्याउन १ हजार ५५ वटा पोल डिजिटल रूपमा राखेर शनिबारदेखि भौतिक रूपमा पोल गाड्ने अभियान सुरू भएको छ ।मुख्यमन्त्री पाण्डेपछि २५–२५ मिटरको दूरीमा मेयर आचार्य र प्रजिअ पाण्डेले क्रमशः २ र ३ नम्बरको पिल्लर गाडेका छन् । सिमेन्टद्वारा निर्मित ४ फिटको पिल्लरलाई २ फिटमुनि गाडेर सिमेन्ट प्लास्टर गरिएको छ ।
पिल्लर गाड्नेक्रममा स्थानीयवासीले मुख्यमन्त्री र मेयरविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
