बैशाख १७,पोखरा- पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा महायज्ञ औपचारिक रुपमा शुरु भएको हो ।
महायज्ञमा निरंजनी पिठाधीश्वर १००८ आचार्य महामन्डलेश्वर स्वामी कैलाशानन्द गिरिजी महाराजले बुधबार बिहान ७ वजेर २७ मिनेट जाँदा हवानादी कार्यको विधिवत शुभारम्भ गरी महायज्ञ औपचारिक रुपमा शुरु भएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत र समय अनुसार नै महायज्ञको विधिवत रुपमा शुरु गरिएको कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीले जानकारी दिए ।
वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीका अनुसार बैशाख १९ गते कोटीहोम महायज्ञमा हवनात्मक कार्यक्रमको प्रारम्भ हुने छ । सोही दिन बिहान ६ बजेर ४५ मिनेटमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी कोटीहोमको प्रारम्भ हुने उनले जानकारी दिए । महायज्ञमा १ सय वटा हवन कुण्ड रहेका छन् ।
जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
महायज्ञको मुख्य दिन बैशाख १७ देखि जेठ २६ गतेसम्म सयौँ गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ ।