कार्तिक ११, पोखरा – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्म वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले विशेष गरी शुक्रबार र शनिबार केही ठाउँमा ठूलो वर्षा तथा कतै कतै हावाहुरीको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह छ । प्राधिकरणले सूचना निकालेर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित मध्यम वर्षा तथा केही ठाउँमा ठूलो वर्षा हुन सक्ने जनाएको छ ।
सम्भावित विपद्बाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा नदी तटीय क्षेत्र एवम् बाढीको जोखिम भएका ठाउँमा नबस्न प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले आग्रह गर्नुभएको छ । त्यसैगरी, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिए तत्काल सुरक्षित ठाउँमा जान पनि प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।