कार्तिक १०,पोखरा – कार्तिक १०, पोखरा – बहुप्रतीक्षित क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करण हिजो सोमबार भव्य उद्घाटनसँगै औपचारिक रूपमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले अघिल्लो दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै विजयी शुरुआत गरेको छ ।
मंसिर ५ गतेसम्म चल्ने प्रतियोगिताका लागि कीर्तिपुरको त्रिवि क्रिकेट रंगशाला झकिझकाउ पारिएको छ । घरेलु क्रिकेटको विकासका लागि महत्वपूर्ण मानिएको यो लिगले युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ । प्रतियोगिताका लागि डीआरएससहित नयाँ नयाँ प्रविधि भित्रिएको छ । सुरक्षा र अन्य व्यवस्थापन पनि चुस्त पारिएको छ ।
प्रतियोगितामा सहभागी ८ टोलीले अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेका छन् । यसले खेल प्रतिष्पर्धात्मक हुने तथा एनपीएललाई अझ उचाइमा पुर्याउने अपेक्षा छ । प्रतियोगिताको हिजो प्रधानमन्त्री वालेन्द्र शाहले उद्घाटन गर्नुभएको हो । खेल शुरु हुनुपूर्व र पछि पनि आतिशबाजी समेत गरिएको थियो ।
