भदौ १० , पोखरा – रसुवाको भोटेकोशी नदीमा आज बिहान ९ बजेतिर आएको बाढीका कारण धनजनको ठूलो क्षति पुगेको अनुमान छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तिब्बतबाट बिहान ८ बजेर ४० मिनेटमा बाढी प्रवेश गरेको थियो भने सरकारी निकायले ९ बजेतिर सूचना पाएको थियो ।
सरकारी निकायहरूले चितवनसम्म नै त्रिशूली नदीको तटीय क्षेत्रमा खतरा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन् । सरकारले बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रारम्भिक रूपमा हेर्दा तिब्बतमा पहिला हिउँ पहिरोले नदी थुनिएको र अहिले रसुवामा बाढी आएको अनुमान छ ।
रसुवागढीमा भन्सार कार्यालय र आसपासका प्रहरी चौकी र स्वास्थ्य चाैकीहरूमा क्षति पुगेको छ । रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुग्लिङसम्म त्रिशूली नदीको किनारमा पर्ने ठाउँमा विशेष सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
त्रिशूली नदीमा पानीको मात्रा बढेको र विपद्को जोखिम हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशूली र कालीगण्डकी नदी मिसिएपछि बन्ने नारायणी नदीको तटबाट मानिसहरूलाई सुरक्षित ठाउँमा सर्न भनेको छ ।
गएको वर्ष असार २४ गते नेपाल–चीन सीमा नाका हुँदै बग्ने भोटेकोशी नदीमा भीषण बाढी आउँदा १८ जना बेपत्ता भएका थिए । गएको वर्ष नेपाल–चीन सीमाबाट ३६ किलोमिटर टाढा रहेको ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा रहेको हिमनदीबाट अचानक पानीको निकास भएको र त्यसका कारण हिमनदीको बाँध फुटेकाले विपद् निम्त्याएको थियो ।
त्यस बेला नवनिर्मित भन्सार, जलविद्युत् आयोजना, विद्युतीय गाडी (ईभी) चार्जिङ स्टेशनसहितका संरचनासहितमा गरेर झन्डै ६ अर्ब ६२ करोड रुपैयाँको क्षति पुगेको थियो । यस वर्षको बाढीको आकार गएको वर्षको भन्दा कैयौँ गुणा ठूलाे देखिएको प्रहरीले जनाएको छ ।
रसुवा बाढीपछि उद्धारका लागि सशस्त्र प्रहरी बलको ठूलो टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार ठूलो संख्यामा सुरक्षाकर्मीहरु अहिले बाढी प्रभावित क्षेत्रमा परिचालित भएका छन् । १९ न. गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेश आदमघाट, १७ नं. गण चितवनबाट ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।