भदाैँ ४ , पाेखरा – पर्वत जिल्लाका केही स्थानमा गाई, गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुमा खोप लगाउने र रोगको पुष्टि गर्न नमुना परीक्षण गर्ने काम सँगसँगै सुरु गरिएको छ । मोदी गाउँपालिका–५ बाजुङ, फलेवास नगरपालिका तथा कुश्मा नगरपालिका–१० पिपलटारीमा लम्पी स्किनसँग मिल्दोजुल्दो लक्षण देखिएका पशुमा खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले जनाएको छ । लक्षण देखिएका पशुबाट नमुना सङ्कलन गरी रोगको पुष्टि गर्न पोखरास्थित प्रयोगशालामा बुधवार पठाइएको छ ।
कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठका अनुसार नमुनाको परीक्षण नतिजा आउन दुईदेखि तीन दिनसम्म लाग्न सक्छ । प्रारम्भिक अवस्थामा पशुमा देखिएको लक्षण लम्पी स्किनसँग मिल्दोजुल्दो रहेकाले जोखिम न्यूनीकरणका लागि खोपसमेत लगाइएको उहाँले बताउनुभयाे ।
‘अहिले सुरुवाती अवस्था हेर्दा लम्पी स्किनको लक्षणजस्तै देखिएको छ । त्यसैले खोप पनि दिइएको हो र शङ्काको पुष्टि गर्न नमुना परीक्षणका लागि पठाएका छौँ’, श्रेष्ठले भन्नुभयाे , ‘पशुमा असामान्य किसिमका गाँठा, ज्वरो वा लम्पी स्किनसँग मिल्ने अन्य लक्षण देखिएमा कृषकले तत्काल सम्बन्धित स्थानीय तहको पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयमा जानकारी गराएर पशुलाई सुरक्षित राख्नुपर्छ ।’
पर्वतमा २ वर्षअघि लम्पी स्किनको सङ्क्रमण फैलिएको थियो । त्यसैले विगतको अनुभवलाई ध्यानमा राख्दै अहिले लक्षण देखिँदासाथ परीक्षण र निगरानीलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ । कार्यालयका पशु प्राविधिक प्रकाश परियारका अनुसार हालसम्म तीन वटा गाईमा लम्पी स्किनसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । यद्यपि विगतमा जस्तो गम्भीर अवस्था भने अहिले नरहेको त्यस्तो अवस्था आउने सम्भावना पनि कम रहेको उहाँको भनाइ छ ।