
पर्वत, १८ कात्तिक
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल जति तात्दै गएको छ त्यति नै गठबन्धनका उम्मेदवारप्रतिको जनलहर बढ्दैगएको छ । पछिल्लो समय नेकपा एमाले पार्टी छोडेर काङ्ग्रेसमा प्रवेश गर्नेको माहोल गाउँगाउँमा तात्दै गएको छ । मंशीर ४ गते हुने निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधिसभामा प्रभावशाली नेता अर्जुनप्रसाद जोशी र प्रदेश १ मा नेकपा माओबादीका युवा नेता सुदिप कुँवर उम्मेदवार हुनुहुन्छ । प्रदेशसभा २ मा सामाजिक अभियन्ता एवं उद्यमी ऋषिकेश तिवारी हुनुहुन्छ । तिनैजना नेता प्रभावशाली नेता उम्मेदवार भएकाले नेकपा एमाले लगायत साना दलका कार्यकर्ता गठबन्धनका दल र प्रमुख घटक नेपाली काङ्ग्रेसमा प्रवेश गर्न थालेका हुन ।
यसक्रममा कुश्मा नगरपालिका ८ का नेकपा एमालेका पार्टीको मुल नेतृत्वमा रहेका नेताहरु नेपाली काङ्ग्रेसमा प्रवेश हुनुभएको छ । प्रवेश गर्नेमा नेकपा एमाले चुवाका कार्यबाहक पार्टी अध्यक्ष हरि नारायण गिरी, नेकपा एमाले चुवाका सचिव रामचन्द्र परियार, ने क पा एमाले कुस्मा नगर सदस्य गणेश नेपाली,नेकपा एमाले चुवाको दलित मुक्ति समाजका अध्यक्ष उत्तम परियार,नेकपा एमालेमा आबद्ध मिलन परियार, टीकाराम पोख्रेल नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्ने सबैलाई नेपाली काङ्ग्रेसका नेता एबम प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेश क का सभापति राजकुमार क्षेत्रीले नेपाली काङ्ग्रेसमा स्वागत गर्नुभयो ।

पर्वतमा गठबन्धनको जित सुनिश्चित भएको भन्दै गठबन्धनको पक्षमा गोलबन्द हुन जोशीले आव्हान गर्नुभयो । उहाँले जिल्लाभरका जनताले अहिले देश लाई माया गर्ने र विकास गर्ने शक्ति पाँच दलिय गठबन्धन नै भएको भन्दै प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।
चुवाका एमाले नेताहरु लाई पार्टीमा स्वागत गर्दै एमाले पार्टी बेलैमा छोडेर परिवर्तित हुने बाटोमा लागेकोमा स्वागत र धन्यबाद ब्यक्त गर्नुभयो । प्रदेश सभा १ को सदस्य पदका उम्मेदवार नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य सुदिप कुँवरले काङ्ग्रेस, माओबादी, नेकपा एकिकृत समाजबादी, जनमोर्चा, नेकमा समाजबादी लगायतका पाँच दलका कार्यकर्ता एकाआपसमा नङ र मासुको जस्तै सम्बन्धमा जोडिएकोले सबै कार्यकर्ताले दायाँबायाँ नगरि मतदान गर्न आव्हान गर्नुभयो । गठबन्धनका उम्मेदवारले हार्दा निरंकुश, अहंकारी र प्रतिगमनकारीले जित्ने भएकाले विशेष सचेत र सजग हुन जरुरी रहेको कुँवरले बताउनुभयो । माओबादीले इमान्दार भएर गठबन्धनका उम्मेदवार लाई भोट हाल्ने र अन्य पार्टीका कार्यकर्ता पनि गम्भिर भएर आफ्ना उम्मेदवार जिताउन लाग्नुपर्ने उहाँले बताउनुभयो । गठबन्धनका उम्मेदवारले चुवाका बिभिन्न बस्ती र कुश्मा नगरपालिका १० पिपलटारीमा घरैघरै पुगेर भेटघाट गरेका छन । पिपलटारीबासीहरुले सधै एमालेको दास बनेर नबसि अब गठबन्धन लाई मत दिने सोचाइमा रहेको बताएका थिए ।