पौष ३,पोखरा- पोखरा सडक महोत्सवको २६औं संस्करण यही पुस १३ देखि १७ गतेसम्म हुने भएको छ । आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इस्वी संवत्काे नयाँ वर्षमा हुँदै आएको महोत्सव यही पुस १३ देखि १७ गतेसम्म हुने रेष्टुराँ एन्ड बार एसोसिएसन (रेवान) का केन्द्रीय अध्यक्ष सङ्घर्ष विष्टले जानकारी दिनुभयो ।
पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रेवानले आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्व बजारमा पुर्याउन पनि मद्दत पुग्ने अध्यक्ष विष्टले बताउनुभयो ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइड क्षेत्रको झन्डै तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मोमो, ससेज खाने प्रतियोगितालगायत रहेका छन् ।