माघ २७,पोखरा – बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको एक करोड रुपैयाँ फिर्ता भएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्म बचत भएका बचतकर्ताको रकम फिर्ता गर्ने काम शुरु भएको हो ।
ढोरपाटनका ९२ र गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्ताले रकम वापतको चेक बुझेका इमेज पीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो । गल्कोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।
गएको पुस २६ गतेसम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका छन् । बचतकर्ताको ठगिएको २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० बराबरको रकम घरसारमा मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ । सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामा रहेका छन् ।