मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News धर्मका नाममा कानुन विपरितका काम नगर्न पोखरा महानगरको चेतावनी

धर्मका नाममा कानुन विपरितका काम नगर्न पोखरा महानगरको चेतावनी

by sambridhaonline

२४ फागुन, पोखरा- मानव सेवा फाउन्डेसनले पोखरा महानगरको अनुमति बिना कोटीहोम गर्न खोज्दा पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा शुक्रबार असहज परिस्थिति सिर्जना भयो।

उच्च अदालत पोखरामा विचाराधीन रहेको कोटीहोमसम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै आएको अवस्थामा भूमिपूजन गरिएपछि झडपसमेत हुन पुग्यो।

महानगरपालिकाका जनप्रतिनिधिहरूले शुक्रबार कार्यक्रम स्थगन गर्न आग्रह गर्दा अटेर गर्दै अघि बढाइएकाले यो स्थानीय सरकारको क्षेत्राधिकार उल्लङ्घन भएको महानगरले जनाएको छ। धर्मको नाममा गुण्डागर्दी शैली अपनाउँदै बाहिरी व्यक्तिहरूलाई समेत ल्याई हतियारसहित नगरप्रहरीमाथि आक्रमण गरिएको महानगरले बताएको छ।

गुरू महाराजका नाममा विवादास्पद छविका विजय भण्डारीको नेतृत्वमा परिचालित समूहको आक्रमणबाट ११ जना महानगर प्रहरी घाइते भएका छन्। टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरूको पोखराका मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। कोटीहोम आयोजक पक्षका पनि दर्जन युवाहरु घाइते भएका थिए ।

महानगरले धार्मिक सहिष्णुतालाई भड्काउने, समाजलाई विभाजित गर्ने र शान्ति खलबल्याउने नियतले गरिएको यो कार्य कानुनी रूपमा दण्डनीय रहेको स्पष्ट पारेको छ। मानव सेवा फाउन्डेसनले वैशाखबाट कोटीहोम गर्ने बताउँदै आए पनि यथास्थितिमा त्यो हुन नसक्ने पोखरा महानगरपालिकाले स्पष्ट पारेको छ।

महानगरले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न प्रशासनसमक्ष माग गरेको छ। साथै, ऐतिहासिक महत्वका चौतारीमा रहेका सयौँ वर्ष पुराना वरपीपलका रुखहरू मास्ने कार्यमा समेत संलग्न फाउन्डेसनका गतिविधि कानुन विपरीत भएकाले रोक्न सबैलाई आग्रह गरेको छ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले जारी गरेको विज्ञप्तिमा महानगर क्षेत्रभित्रका सबै धर्म र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, कानुन विपरीतका कुनै पनि कार्य नगर्न/नगराउन सम्बन्धित सबैलाई चेतावनी दिइएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline