चैत्र ०३,पोखरा – पाल्पामा सडक निर्माणमा खटिएका दुई जना मजदूरको शव कालीगण्डकी नदीमा भेटिएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत राम्दी–रानीमहल सडक खण्डको अस्थायी क्याम्पमा बसेर डोजर अपरेटरको काम गर्ने सिन्धुलीको गोलाचौर गाउँपालिका–६ बस्ने २६ वर्षका भोजराज अस्लामी मगरको शव कालीगण्डकी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
मगर फागुन २६ गते बेलुका खाना खाएर साथीहरूसँग क्याम्पमा सुतेका र २७ गते बिहान बिस्तारामा नभेटिएपछि खोजी शुरू भएको थियो । मोबाइल बिस्तारामै रहेको र सीसीटीभी फुटेजमा राति २ बजे क्याम्पबाट बाहिर निस्किएको देखिएको प्रहरीले जनाएको छ ।
यस्तै राम्दी रानीमहल सडक खण्डमै मजदूरका रूपमा काम गर्ने दाङको तुल्सीपुर उपमहानगरपालिका–३ घर भएका ४५ वर्षीय तेजबहादुर रास्कोटीको पनि तीन दिनपछि शव भेटिएको प्रहरीले जनाएको छ ।
फागुन २९ गते कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका रास्कोटीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुवै जनाको मृत्युकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।