जेष्ठ १७,पोखरा – अहिले देशका धेरै ठाउँमा बदली भए पनि पानी निकै थोरै ठाउँमा मात्रै परेको छ । आज राति पनि कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्ति बिहीवार बेलुका मनसुन भित्रिएदेखि नै कोशी प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेकोमा आज राति पनि पानी पर्ने सम्भावना रहेको मौसमवि्द प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।बिहीवार कोशी प्रदेशमा आइपुगेको मनसुन आज पनि कोशीमै थप सक्रिय हुने क्रममा छ ।
यसैबीच नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढी पहिरोको जोखिम शुरू भएको छ । मनसुन भित्रिएको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार बिहान परेको पानीले धरान–धनकुटा सडकसहित कोशी प्रदेशका ७ वटाभन्दा धेरै सडक अवरुद्ध बनाएको छ ।
आजै झापामा माईखोलाको बाढीले २२ वटा घर डुबानमा परेका छन् । विराटनगरमा पनि केही घरमा पानी पसेको छ ।