जेष्ठ २७,पोखरा – कास्की प्रहरीले नेपाल टेलिकमको तामाको तार तथा विभिन्न व्यक्तिको घरायसी तामाका भाँडाहरु चोरी अभियोगमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुईजना कवाडी गोदाम संचालक रहेका छन् ।नेपाल टेलिकमले पोखरा १४, छिनेडाँडा क्ष्ँोत्रबाट तार चोरी भएको जानकारी गराएसँगै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामले गरेको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पोखरा १२, ढिकालेथरमा गद्धी (कवाडीखाना) संचालन गर्ने भारतको बिहार राज्यको मोतीहारी जिल्लाका मनोजकुमार सिंह र पोखरा ८, पृथ्वीचोकमा गद्धी चलाउने भारत बिहारकै मुकेशकुमार रहेका छन् ।
कवाडीखानाबाट टेलिकमको तारको बाहिरको प्लाष्टिक ढडाएर कुच्याएर राखिएको तामाको तार, विभिन्न घरायसी भाँडा बरामद भएको कास्की प्रहरीले जनाएको छ ।सोही अभियोगमा प्रहरीले भारत घर भइ ढिकालेथर बस्ने वर्ष २७ को करनकुमार शाह र धादिङ खनियावास गाउँपालिका २ स्थायी घर भइ हाल पोखरा ५ जिरोकिमी बस्ने श्यामबहादुर तामाङलाई पनि पक्राउ गरेको छ ।