जेष्ठ ३१,पोखरा – श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनको दाबी छ ।
कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिले जानकारी दिनुभयो ।कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिनुभयो । उहाले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने प्रण गर्नुभायो। समापन कार्यक्रममा कोटीहोम सम्पन्न गर्न सघाउने सबैप्रति आभार व्यक्त गनुभयो ।
समापनमा कोटीहोमका सहसंयोजक युवक लामिछानेले गणतन्त्रभित्र हिन्दू राज्य घोषणा हुनुपर्नेमा जोड दिनुभयो । उहाले मामाघर अनाथ आश्रम बनाउनका लागि पाँच लाख, कोटीहोमका लागि एक लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गनुभयो ।कोटीहोममा आयोजित रक्तदानमा नौ सय छ युनिट रगत संकलन भएको छ । साथै कोटीहोममा हालसम्मकै ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियोगिता तथा वक्तृत्वकला भएको थियो । जेठ २६ गते पूर्णाहूति भएको हवनमा चार सय ब्राम्हणद्वारा एक करोड ५० लाख हवन भएको थियो ।
कोटीहोममा पाँच सय २५ जनाको आयोजित ब्रतवन्ध, एक सय २० जनाको तुलादान, एक सय ३५ जनाको चौरासी पूजा, एक सय ४६ जनाको नवग्रह शान्ति, १४ जनाको काल सर्प योग पूजा, पाँच जनाको अर्क विवाह, अष्ट महादान चार, पितृको अर्चना ३३, लघु रुद्री पाँच, अति रुद्री १८, विवाह एक, गुन्यू चोली पाँच, लाखवत्ती सेवा २२ अन्य पूजा ४५ जनाले गरेको प्रचारप्रसार संयोजक लोकराज ढकालले जानकारी दिनुभयो ।