साउन १२,पोखरा – रसुवाको गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा दुई युवकको मृत्यु भएको छ ।
आइतबार दिउँसो गोसाइकुण्ड गाउँपालिका-५ स्थित तालमा पौडी खेल्ने क्रममा दुई जना पुरूष बेपत्ता भएकामा आज सोमबार बिहान साढे १० बजेतिर शव फेला पारिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार मोरङका मनोज न्यौपाने र सुजन ढकालको डुबेर मृत्यु भएको हो ।
खोजी गर्न सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमाण्डमा टोली परिचालन भएको थियो ।
यससँगै नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले पनि उनीहरूको खोजी गरेको थियो ।