साउन १७,पोखरा – पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको तालदेखि तालसम्म (लेक टु लेक) साइकल ट्रयाकको गुरुयोजना तयार भएको छ । एसियाली विकास बैंकको १ अर्ब रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुने सो ट्रयाक १ सय १७ किलोमिटर लामो हुनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका लागि महत्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गरे । यसले संसारभरका साइकलप्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ । पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्रयाक मानव स्वास्थ्य र पर्यावरणको संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्ने मेयरको भनाइ छ ।
विकास साझेदार एसियाली विकास बैङ्कको करिब १ अरब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्रयाकले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । पोखराको दिगो पर्यटन विकासअन्तर्गत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण भएको हो । गुरुयोजना तयार भइसकेपछि एडिबी मिसन र सरोकारवालाहरूसँग शुक्रवार छलफलसमेत गरिएको छ । एडीबी मिसनले यसको स्थलगत अवलोकनसमेत गरेको आयोजना व्यवस्थापक कविता पौडेलले बताइन् ।
पोखरामा रहेका तालहरूलाई एकआपसमा (भित्र र तालहरू बाहिर पर्ने गरी) जोड्ने गरी इनर र आउटर दुईवटा रुटहरू सहित विभिन्न स्थानहरूमा कनेक्टिङ रुटहरूसमेत निर्माण गर्दा करिब १ सय १७ कि.मी लम्बाइको साइकल ट्रयाक निर्माण हुनेछ ।