सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार

वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार

by sambridhaonline

पौष २८,पोखरा – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नेतृत्व चयनको दिशामा अगाडि बढेपछि सभापति शेरबहादुर देउवा सहितका नेताहरू दबाबमा परेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरु भएको महाधिवेशनको बन्दसत्रमा गठित ९ वटा समूहले १४ औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमिति भंग गर्नुपर्ने सुझाव दिएका छन् । झन्डै दुई तिहाइ महाधिवेशन प्रतिनिधिहरू भृकुटीमण्डपमा भेला भएपछि सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कामाथि मध्यमार्गी बाटो खोज्न चर्को दबाब परेको हो ।

विशेष महाधिवेशनको बन्दसत्रमा समूहगत छलफल र प्रतिवेदन बुझाउने प्रक्रियामा समय लागेपछि कार्यक्रम मंगलबारसम्मका लागि लम्बिएको छ । प्रचारप्रसार उपसमितिका सदस्य माधव चौलागाईंका अनुसार ९ वटै समूहले कार्यसमिति भंग गरी आगामी महाधिवेशनसम्मका लागि तदर्थ समिति बनाउनुपर्ने राय दिएका छन् । महाधिवेशनस्थलमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदनमाथि गम्भीर छलफल भएको र समूहहरूबाट सुझाव संकलन गर्ने काम मंगलबार मात्रै टुंगिने चौलागाईंले जानकारी दिए । महाधिवेशन प्रतिनिधिहरूले वर्तमान कार्यसमितिको पदावधि सकिएको भन्दै यसलाई निरन्तरता दिन नहुने अडान राखेका छन् ।

पार्टीभित्रको यो संकट टार्न र सम्भावित फुट जोगाउन नेता डा शेखर कोइरालाले सक्रियता बढाएका छन् । उनले सोमबार सभापति देउवा र महामन्त्रीद्वयसँग छुट्टाछुट्टै संवाद गरी सहमतिको विकल्प सुझाइरहेका छन् । सुरुमा देउवा निवास महाराजगन्ज पुगेका कोइरालाले त्यसपछि महामन्त्रीहरूलाई भेटेर पार्टी जोगाउन आफू ‘विष पिउन’ समेत तयार रहेको बताएका छन् । देउवाले पनि आफूनिकट पदाधिकारी, केन्द्रीय सदस्य र कानुनविद्हरूसँग लामो परामर्श गरेपछि महामन्त्रीहरूसँग वार्ता गर्ने निर्णयमा पुगेका हुन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार सभापति देउवाले अहिलेको समस्यालाई निष्कर्षमा पुर्‍याउन महामन्त्रीद्वय थापा र शर्मासँग वार्ता गर्ने तयारी गरेका छन् । देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत साथमा राखेर सहमतिको बाटो खोज्ने भएका हुन् । देउवा पक्षका कतिपय नेताहरूले दुई तिहाइ बहुमत बिना कार्यसमिति भंग हुन नसक्ने भन्दै देउवालाई ढाडस दिए पनि भृकुटीमण्डपको जनलहरले संस्थापन पक्षलाई वार्ताको टेबलमा आउन बाध्य पारेको छ । मंगलबार हुने यो निर्णायक वार्ता र बन्दसत्रको निर्णयले कांग्रेसको आगामी भविष्य र संरचना तय गर्ने देखिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline