बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News धन्यवाद प्रधानमन्त्री सुशीला कार्की, बाँकी जिम्मा नयाँ संसद्लाई

धन्यवाद प्रधानमन्त्री सुशीला कार्की, बाँकी जिम्मा नयाँ संसद्लाई

by sambridhaonline

फागुन २१, पोखरा – भ्रष्टाचार र वेथितिविरुद्ध भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि २७ भदौमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको सरकारले ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य जिम्मेवारी पूरा गरेको छ ।

जेनजी आन्दोलनपछि कठिन र चुनौतीपूर्ण अवस्थामा पनि मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न पुग्नुभएकी प्रधानमन्त्री कार्कीले विभिन्न आशंका, कठिनाइ र विरोधका बीच निर्वाचन गराएर जिम्मेवारी पूरा गर्नुभयो । उहाले असहज अवस्थामा मुलुकलाई एक हिसाबले निकास दिन सफल हुनुभएको छ ।

कार्की नेतृत्वको सरकार गठन भएका बखत ‘निर्वाचन नै हुन नसक्ने’ र संविधान ट्र्याकबाहिरै गएर लामो समय मुलुकमा अराजकता मच्चिन्छ कि भन्ने आशङ्काहरू पैदा भएका थिए । सरकारको दृढताका कारण ती यावत् आशङ्काहरूलाई चिर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न भयो ।

निर्वाचनको नतिजा के कस्तो र कसको पक्षमा आउँछ भन्ने पाटोलाई अलग राखेर हेर्दा, सङ्क्रमणकालीन अवस्थालाई पार लगाउन सरकार, राजनीतिक दलहरू र निर्वाचन आयोगले खेलेको भूमिका कम प्रशंसायोग्य मानिँदैन ।

निर्वाचन सम्पन्न गर्ने काममा प्रधानमन्त्री कार्कीले देखाएको सक्रियता, गृहमन्त्री ओमप्रकाश अर्यालसहित अन्य मन्त्रीहरू, निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना मात्र होइन, विभिन्न राजनीतिक दलहरूले समेत दिएको साथ र सहयोग सराहनीय रह्यो ।

अवश्य नै, गैरदलीय सरकार र त्यस्तो सरकारको प्रधानमन्त्रीलाई जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारलाई सम्मान, क्षतिपूर्ति तथा घाइतेहरूको समयमै उपचारको व्यवस्था गर्नुपर्ने दायित्वसँगै सबै राजनीतिक दल र जेनजी पुस्तालाई समेत विश्वासमा लिएर देशभर एकै पटक भयमुक्त र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने विषय थिएन ।

कार्कीले आफूले प्रधानमन्त्रीको शपथ लिँदै गर्दा मन्त्री चयनमा देखिएको जटिलता, विस्थापित राजनीतिक नेतृत्वलाई विश्वासमा लिनुपर्दाको क्षण, आन्दोलनका क्रममा गिरेको सुरक्षाकर्मीको मनोबल उकास्ने काम र जलेका व्यवसायी तथा व्यापारीहरूको मनोबल बढाउन सरकारले खेलेको भूमिकाकै कारण तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन पुगेको कुरालाई कसैले पनि बिर्सन मिल्दैन । यद्यपि, कार्की नेतृत्वको सरकार गठन हुँदा नै राजनीतिक–संवैधानिक प्रश्नहरू नउठेका भने होइनन् । राष्ट्रपति रामचन्द्र पौडेलले भनेझैँ, मुलुकको कठिन र जटिल परिस्थितिमा बडो जुक्ति लगाएर मुलुकलाई निकास दिन गरिएको प्रयासलाई पनि बिर्सन मिल्दैन ।

त्यतिमात्रै होइन, नेपालको बदलिएको परिस्थितिमा पनि नेपाललाई सही संवैधानिक ट्र्याकमा फर्काउन छिमेकी देशका साथै अन्तर्राष्ट्रिय समुदायले खेलेको भूमिका पनि कम महत्त्वपूर्ण छैन । निर्वाचन सम्पन्न भएसँगै अब मुलुकलाई कसरी अघि बढाउने, के कस्ता नीति–नियम बनाउने, विगतका कमीकमजोरीलाई कसरी सुधार्दै समग्र नेपाल र नेपालीको जीवनस्तर माथि उकास्ने भन्ने जिम्मा नयाँ संसद् र त्यसका सदस्यहरूमा पुगेको छ । निर्वाचित भएर आउने २७५ जना प्रतिनिधि सभा सदस्यमाथि जनताले राखेको भरोसालाई विवेकपूर्ण ढङ्गले जनमतको कदर गर्दै मुलुक, संविधान र व्यवस्था जोगाउने जिम्मेवारी थपिएको छ ।

त्यसबाहेक निर्वाचनपछि बन्ने नयाँ सरकार र संसद्ले जेनजी आन्दोलनका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनले औँल्याएका दोषीलाई कारबाही गर्ने दायित्व रहनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline