जेष्ठ १ , पोखरा – कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ सुन पदेलीमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार साँझ करिब ६ बजेको समयमा उनीहरूलाई २ लाख ८७ हजार ८ सय ८० रुपैयाँ नगद र ४ बुक ताससहित नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा लोकेसन पत्ता लगाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले पक्राउ परेकाहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेको छ । समाजमा हुने यस्ता गैरकानुनी क्रियाकलाप नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको बस्नेतले बताउनुभयो ।
यसअघि पनि कास्कीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा मानिसहरू पक्राउ पर्दै आएका थिए । प्रहरीले अवैध सट्टेबाजी र जुवातास विरुद्धको अभियानलाई अझै सशक्त बनाउने जनाएको छ । जुवाको खालबाट बरामद भएको रकम र ताससहितका दसी प्रमाणलाई प्रहरीले सुरक्षित राखेको छ ।