382
पर्वत : हप्ता दिन अघि कुश्माको शिवालयचोकमा एक टेलिभिजन कार्यक्रममा फलेवासका कृष्ण सुबेदीले प्रश्न गरे,‘ बार्तली बा’ का छाउरालाई किन भोट दिने ? उनले बार्तली ‘बा’ का छाउरा भनेर पर्वतबाट एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पदम गिरीलाई भनेका थिए । एमालेको तर्फबाट भोट माग्दै घरदैलोमा पुगेका पदम गिरीलाई फलेवासका कृष्ण सुबेदी जस्ता धेरैले किन भोट दिने भनेर प्रश्न गरिरहेका छन् ।
पर्वतबाट अघिल्लो चुनावमा भारी मतान्तरले जितेका पदम गिरीले जिल्लामा अरूले गरेका विकास लाई आफूले गरेको झुटो प्रचार गरेर मत मागिरहेका छन् । त्यति मात्रै हैन गिरीले संसदमा सधैँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तिमान मात्रै गाउने गरेका थिए ।
निर्वाचनको क्रममा मत माग्न गाउँ पसेका गिरीलाई दुई दुई पटक संसद् भङ्ग गर्दा आफ्ना अध्यक्ष केपी शर्मा ओलीको समर्थन गरेकोमा पर्वतका सर्वसाधारण खुसी छैनन् । शिवालयचोकमा आयोजित कार्यक्रममा बोल्ने सुबेदीले समेत बार्तली बा ले जे गर्दा पनि ताली पिट्ने गिरीलाई किन भोट दिने भन्दै प्रश्न गर्दा एमालेका कार्यकर्ताले कार्यक्रम स्थलबाट लखेटेका थिए ।
गाउँ पसेका गिरीलाई पाँच वर्षसम्म के काम गरेऊ भनेर जनताले प्रश्न गरिरहेका छन् । उनले यो प्रश्नको उत्तर दिन सकेका छैनन् । उनले जिल्लामा वहुवर्षे योजना र राष्ट्रिय गौरवका आयोजनाको काम देखाएर भोट मागिरहेका छन् ।
जिल्लामा लामो समयसम्म अलपत्र परेको कालिगण्डकी करिडोरको विकसित काम आफ्नो पहलमा भएको भनेर जनतालाई झुक्काई रहेका छन् । उक्त सडक राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको आयोजना हो । मध्य पहाडी लोक मार्ग पनि राष्ट्रिय गौरवको आयोजना हो । गिरीको कुनै पहल नभए पनि यो सडक बिस्तारको काम रोकिने थिएन । त्यस्तै जिल्लाको कुश्मा नगरपालिका १ पाङ, कुश्मा नगरपालिका ९ कटुवाचौपारीदेखि ठूलीपोखरी, सिल्मीबाट ठूलीपोखरी, अर्मादी देखि बनौसम्मको सडक प्रदेश सरकारको योजना हो । यी आयोजनाको काम गिरी सांसद नहुँदै सुरु भएका आयोजना हुन् ।
गिरीले अघिल्लो पटक निर्वाचनको ताका पर्वतका सबै सडक अब अर्को पटक भोट माग्न आउँदा सरर साइकल चढेर जान सक्ने बनाउने उद्घोष गरेका थिए । गाउँ पुगेका गिरीलाई तपाई साइकल चढेर आउनुभयो कि गाडी चढेर आउनुभएको हो भनेर गाउँलेले प्रश्न तेर्साउने गरेका छन् ।
पदम गिरी सांसदमा विजय हासिल गरेर शालिजामा पुग्दा स्थानीयलाई सम्बोधन गर्दै बोलेको एउटा भिडियो सामाजिक सञ्जालमा अहिले पनि चर्चित छ । गिरीले उक्त भिडियोमा भनेका थिए,’ अब तपाईँहरूले रेडियो टिभीमा अहिलेका जस्ता फोस्रा भाषण सुन्नुपर्दैन,’ अब फलानो ठाउँमा रेल स्टेसन उद्घाटन भयो, फलानो ठाउँमा विमानस्थलको उद्घाटन भयो, फलानो ठाउँमा सुरुङ मार्ग खुल्यो भन्ने सुन्नुहुन्छ । अव समाचार यस्ता सुन्ने हो ।’ उनले बोलेको कुरा अहिले उनैका लागि गलाको पासो बनेका छन् ।
उसो त गिरीलाई अहिले निर्वाचनमा उम्मेदवार बनिरहँदा आफ्नै पार्टी एमाले भित्रैबाट पनि अन्तर्घातको डर छ । स्थानीय चुनावमा कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका मेयरका उम्मेदवारलाई सहयोग नगर्दा पराजित भएको ताजा घटना गिरीका लागि चुनौतीका रूपमा खडा भएको छ ।
राँके समूह अर्थात् माधव नेपाल समूहमा सक्रिय रहेका कुश्माका मेयर पदका उम्मेदवार गणेश शर्मा पौडेल र फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मालाई गिरीले चुनावमा हराउन भूमिका खेलेको आरोप छ । एमाले अध्यक्ष ओलीले दुई दुई पटक संसद् भङ्ग गर्दा विरोधमा राँका बालेको माधव नेपाल समूहको सबैभन्दा अघिल्लो पङ्क्तिमा गणेश शर्मा पौडेल, पदमपाणी शर्मा र भक्त कुँवरको नाम आउँछ । उनीहरू अहिले एमालेमै फर्र्किएपनि ओली निकट नेताहरूका बिचमा राँके समूहकै रूपमा चित्रित छन् ।
एकातिर सांसद भएर जिल्लाको विकासमा उल्लेखनीय भूमिका खेल्न नसकेको र अर्को तर्फ पूर्व माधव नेपाल समूहको पनि पुरापुर सहयोग नहुने निश्चित भएकाले गिरीलाई प्रतिनिधिसभाको सांसद हुने चाहनामा तगारो बन्ने देखिन्छ ।
एमालेका उम्मेदवारले नजित्ने निश्चित भएपछि जिल्लाभर एमालेको विभिन्न पदमा रहेका कार्यकर्ता अन्य पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । कुश्मा नगरपालिका ८ चुवामा नगर कमिटी र गाउँ कमिटीमा रहेर सक्रिय नेता नै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् भने देउपुर र देउरालीमा दुई दर्जन एमालेका कार्यकर्ताहरू गठबन्धनको पक्षमा लागेका छन् । जहाँ जहाँ गठबन्धनको घरदैलो हुन्छ त्यहाँ त्यहाँ एमालेका कार्यकर्ताहरू गठबन्धनको पक्षमा उत्रिएपछि एमालेलाई हम्मे पर्दै आएको छ ।