सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण, ११ हजार ५ सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि

घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण, ११ हजार ५ सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि

सबैभन्दा बढी कास्कीमा ५ हजार ९ सय २८

by sambridhaonline

असोज १७, पोखरा – गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय ३४ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ।

गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको संख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो।

मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले गत जुलाईयता डेङ्गीको सङ्क्रमण दर बढ्दै गएको बताए। जुलाईमा सात सय २८ र अगष्टमा चार हजार ८३ जनामा डेङ्गी देखिएको उनले जानकारी दिए। सबैभन्दा बढी कास्कीमा पाँच हजार नौ सय २८ र कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो।

शिक्षा अधिकृत शर्माले दिएको जनाएअनुसार हालसम्म तनहुँमा दुई हजार ७३८, पर्वतमा एक हजार ६३, गोरखामा पाँच सय ९२, बागलुङमा तीन सय ९५, स्याङ्जामा तीन सय ९३, म्याग्दीमा एक सय ८९, नवलपुरमा एक सय ७४, लमजुङमा एक सय आठ र मुस्ताङमा आठ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। डेङ्गीका कारण हालसम्म प्रदेशभित्र तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा कास्कीका चार महिला र एक पुरुष, तनहुँ र म्याग्दीका एक/एक जना पुरुष छन्।

डेङ्गीबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ। महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ। असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने उनको भनाइ छ। यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको रेग्मीले बताए।

महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भए पनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ।

चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन्। समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ। डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ।

डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ। डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ। यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको चिकित्सकले जनाएका छन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline