माघ ०९,पोखरा – सरकारले देशभरका करिब १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने भएको छ । आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउन लागेको हो ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मंगलबार आयोजना गरेको शिक्षा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा १६ लाख ८८ हजार ७६८ किशोरीहरूलाई एचपीभी खोप दिन लागिएको जनाएको हो । कार्यक्रममा टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमले महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको बताए । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू र मृत्यु हुने सङ्ख्या न्यून आय भएका र मध्यम आय भएका देशहरूमा देखिएको उनको भनाइ छ । विश्वभर हरेक वर्ष तीन लाख ११ हजार महिला महिलाको मृत्यु क्यान्सरका कारण हुने गरेको अनुमान छ । सन् २०३० सम्म त्यो सङ्ख्या चार लाख पुग्ने अनुमान गरिएको छ ।