फाल्गुन २०,पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य विमा काउन्टरमा अनियमितता भएको पाइएपछि छानविन समिति गठन गरिएको छ । विशेष गरी स्वास्थ्य बिमा काउन्टरमा बिमातर्फका सेवाग्राहीले तिरेको रकम राती राती फिर्ता गरिएको सार्वजनिक भएपछि छानविन थालिएको हो । शाखा अधिकृत सुशीलकुमार अर्यालको नेतृत्वमा छानविन समिति गठन गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार स्वास्थ्य बिमा गरेका बिरामीबाट लिइने १० प्रतिशत रकम रातीराती ‘फिर्ता’ गरिएको भेटिएको हो । ‘यसरी फिर्ता गरिएको रकम १ करोड भन्दा बढी रहेको अनुमान गरिएको छ’, अस्पताल स्रोतले भन्यो, ‘उक्त रकम विमातर्फका कर्मचारी आफैले राखेर अनियमितता गरेको हुनसक्ने देखिएपछि छानविन समिति गठन भएको हो ।’ अस्पतालले उपचार गर्न आउने स्वास्थ्य विमातर्फका विरामीबाट सबै प्रकारका सेवामा १० प्रतिशत शुल्क लिने गर्छ ।
यसरी फिर्ता गरिएको रकममध्ये अधिकांश ठूला जाँचहरुको रहेको छ । जस्तोकी कसैलाई एमआरआई गर्नुपर्ने भयो, त्यसका लागि १० हजार लाग्ने भयो भने उक्त बिरामीबाट एक हजार, २० हजार रुपैयाँ लाग्ने भयो भने २ हजार रुपैयाँ अस्पतालले लिन्छ । बिरामीको एमआरआई पनि गरिन्छ । बिल बनाइन्छ । तर बिरामीले तिरेको रकम ‘फिर्ता’ गर्नुपर्ने भयो भनिन्छ र गरिन्छ । तर बिरामीले उक्त रकम पाउँदैन । रातीको समयमा गरिने ‘फिर्ता’ ले सिधै अनियमितता भएको देखिने स्रोतको भनाई छ । यसले अस्पताललाईसमेत ठूलो घाटा भएको एक कर्मचारीले बताए । यस विषयमा विमा काउन्टरमा केही समय अघि रातीको समयमा होहल्ला भएपछि घटना सार्वजनिक भएको हो ।