फाल्गुन २६,पोखरा – पोखरास्थित नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा मानव सेवा फाउन्डेसनद्वारा आयोजना गर्न लागिएको कोटिहोमको विषयमा पोखरामा सोमबार त्रिपक्षीय वार्ता सम्पन्न भएको छ । पोखरा महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय तथा आयोजक मानव सेवा फाउन्डेसनका प्रतिनिधिहरूबीच सोमबार पोखरा महानरपालिकामा वार्ता भएको हो ।
त्रिपक्षिय वार्ताले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने सहमति भने गरेको छ यद्यपी कोटिहोम कहाँ गर्ने भन्नेबारे भने कुनैपनि निर्णय नभएको महानगरका प्रवक्ता मोतिलाल तिम्सीनाले जानकारी दिए । यसअघि बाराहीघाटमा कोटिहोम गर्न नदिनेबारे कार्यापालिका बैठकले निर्णय गरेकोले काटिहोम कहाँ गर्न दिने भन्ने विषयमा मंगलवार पुनः कार्यपालिका बैठक बसेर निर्णय गरिने पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष समेत रहेका तिम्सीनाले जानकारी दिए ।
आजको बैठकमा कोटिहोम सञ्चालनका लागी त्रिपक्षिय समिति बनाउनेबारे पनि प्रस्ताव पेस भएको थियो तर समितिमा कुनकुन पक्षको कतिजना सदस्य रहनेभन्नेबारे भने निर्णय नभएको प्रवक्ता तिम्सिनाले जानकारी दिए । समिति गठनका विषयमा पनि कार्यपालिका बैठकपछि नै निर्णय हुने छ । प्रवक्ता तिम्सीनाले बाराहीघाटमा नै कोटिहोम गर्न दिनेतर्फ भने महानगरको पुरानै अडान कायम रहेको बताएका छन् ।
बैठकमा कोटिहोम कार्यक्रमलाई महानगरपालिकाले पनि अपनत्व लिने निर्णय भएको विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले जानकारी दिए ।
यसअघि गत शुक्रबार कोटिहोमका लागि भूमि पूजन कार्यक्रममा पोखरा महानगरका नगरप्रहरी तथा आयोजक पक्षसँग विवाद उत्पन्न भएको थियो । जसमा केही नगरप्रहरीसहित कोटिहोम पक्षका केही व्यक्तिहरु घाईते भएका थिए । कोटिहोमको विषयलाई लिएर पोखरामा पछिल्लो समय विवादहरु हुँदै आएको छ ।