बैशाख ५,पोखरा – विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । शुक्रवार एक कार्यक्रमकाविच गृहमन्त्री लेखकले मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा गृहमन्त्री लेखकले जलवायु परिवर्तनका कारण मानव समुदायमा आउने विपद् र जनधनको क्षति, सामाजिक र आर्थिक पक्षलाई प्रतिकार्य राहत उपलब्ध गराउन आपत्कालीन गोदाम घर निर्माण गरिएको बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट जोखिमपूर्ण प्रदेश भएको बताउँदै यी जोखिमलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिपरेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुविधा सम्पन्न गोदाम घर राहत वितरण र विपद् व्यवस्थापनमा चुस्त र प्रभावकारी कार्यसम्पादनका लागि सहयोगी बन्ने विश्वास व्यक्त गर्दै अत्यावश्यक सामग्रीको सुरक्षित भण्डारण र समय मै वितरणमा यसले महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
विश्व खाद्य कार्यक्रम र युरोपियन युनियनको सहयोग तथा नेपाल सरकारको विपद् जोखिम व्यवस्थापन प्राधिकरणको समन्वयमा निर्माण गरिएको गोदाम घरमा भूकम्प, बाढी पहिरो जस्ता आपत्कालीन अवस्थाहरूमा आवश्यक पर्ने अत्यावश्यक सामग्रीको सुरक्षित भण्डारण गरिनेछ । गोदामघर भवन २ करोड लगानीमा निर्माण भएको हो ।