जेष्ठ १६,पोखरा – केही अघि समयमात्रै गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको बिरोधमा आजदेखि प्रदेशभरी सार्वजनिक यातायात ठप्प पारिएको छ । सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार आफ्ना सवारी साधन थन्याएर नियमावलीको विरोध गरेका हुन् ।
प्रदेश सरकारले चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ सम्बन्धी नियमावली पारित गरेको थियो । व्यवसायीले उक्त नियमावली खारेजीको माग गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीका अनुसार प्रदेशभर गुड्ने करिब १५ हजार भन्दा बढी गाडीहरू अहिले घर र ग्यारेजमा थन्क्याइएको छ । प्रदेशमा यहाँ ३० भन्दा बढी समितिहरू सक्रिय छन् । पोखरा लगायत प्रदेशभरी नै लामो तथा छोटो दुरीका बस, मिनिबस, ट्याक्सीलगायत सार्वजनिक सवारी साधन चलेका छैनन् । पर्यटक बस, निजी सवारी साधन भने सडकमा गुडिरहेका छन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत जेठ १८ गतेसम्म प्रदेशभरी सार्वजनिक यातायात ठप्प पार्ने निर्णय व्यवसायीहरूले गरेका छन् । यस्तै, शुक्रबार काठमाडौँको २७ किलोमिटर चक्रपथ सडकमा समेत गाडी रोकेर विरोध गर्ने र सोही दिन संयुक्त ट्रेड युनियनको बैठकबाट थप कार्यक्रमको घोषणा गरिने केसीले बताए । यसैगरी १८ गते ८ वटा घटक संगठनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछन् । यो बिरोधबाट पनि सरकार प्रारम्भिक विरोधबाट पनि पछि नहटे १९ गतेदेखि देशैभर यात्रुवाहक र मालवाहक गाडीहरू ठप्प पार्ने केसीले जानकारी दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सुरु भएको आन्दोलनका कारण यात्रुहरू भने मर्कामा परेका छन् । व्यवसायीले विरोध जनाएपछि सरकारले वार्ता समिति बनाएको छ । मन्त्रालयका सचिव कमल कुमार अधिकारीको संयोजकत्वमा १३ गते नै समिति गठन भएपनि व्यवसायीहरू वार्तामा जान मानेका छैनन् ।