जेष्ठ २३,पोखरा – स्याङ्जाका किसानले धानको बीउ बिक्रीबाट रु ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्
नेपाल सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस) मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ स्याङ्जा तथा बाहिरी जिल्लामा बिक्री गरिएको हो । वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रका प्रमुख सुदीप रेग्मीका अनुसार डेसिस प्रणालीमार्फत ११५ टन उन्नत जातका धानको बीउ बिक्री भएको हो।
स्याङ्जामा बीउ उत्पादनका लागि सूचिकृत भएका २२ समूह, सहकारी तथा फर्म रहेका छन् । सूचिकृत समूह तथा सहकारीले धान, गहुँ, मकै, आलु लगायतका उन्नत बीउ उत्पादन गर्दै आएका छन् । यस वर्ष जिल्लामा सूचिकृत भएकामध्ये १५ समूह सहकारीले रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथ जस्ता उन्नत जातका ११५ टन बढी धानको बीउ बिक्री गरेका उहाले बताउनुभयो ।