असार १८,पोखरा – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म कास्की जिल्लामा ११४ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरेको छ । इन्सेकले असार १८ बुधबार पोखरामा कास्की जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी दिँदै अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा गरेको हो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलका अनुसार कास्कीमा घरेलु हिंसा सबैभन्दा बढी देखिएका छन् । बालअधिकार अन्तर्गत ९ वटा घटना छन् । ती मध्ये बालिका बलात्कारका ७ वटा र बालबालिका कुटपिटका २ वटा घटना भएको खकुरेलले बताउनुभयो । अमानवीय व्यवहार तथा दुव्र्यवहारका २ वटा, कुटपिटका २ र हत्याका १ वटा घटना छन् । यस्तै, जातीय विभदकाको १ वटा, महिला अधिकार सम्बन्धी महिला बलात्कारका ७ वटा घटना भएको खकुरेलले बताउनुभयो । उनका अनुसार ६ महिनामै घरेलु हिंसाका ९२ वटा घटना घटना अभिलेख गरेको उनले बताउनुभयो ।
‘गत वर्ष यहीँ समयमा सन् २०२४ जनवरीदेखी जुनसम्म ९३ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना अभिलेख गरेको थियो । त्यसमध्ये घरेलु हिंसाको घटना मात्र ५३ वटा थिए । तर, यो वर्ष त्यसको संख्या ह्वातै बढेर ९२ पुगेको अभिलेख गरिएको छ,’ खकुरेलले बताउनुभयो ।
इन्सेकले विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धीहरूमाथि आधारित रहेर वर्षभरि देशभरिका घटनाहरू संकलन गर्ने र विश्लेषणसहित ‘नेपाल मानव अधिकार वर्ष पुस्तक’ प्रकाशन गर्दै आएको छ ।