असार २९,पोखरा – बाग्लुङको जैमिनीमा बाढीका कारण तीन सय रोपनी धानखेत बगरमा परिणत भएको छ ।
गएको मङ्गलवार राति कालुङ्खोलाको जलविद्युत् बगाउने गरी आएको बाढीले भर्खर धान रोपेको खेत कटान गर्नुका साथै बगर बनेको किसानको भनाइ छ ।
पैयुथन्थापमा मात्र एक सय ५० रोपनी धानखेत बगर बनेको जैमिनी नगरपालिका कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिनुभयो ।
एउटा जलविद्युतगृह बगाएको, झन्डै तीन सय रोपनी खेतमा क्षति पुर्याएको र नौवटा सिँचाइ कुलोमा क्षति पुर्याएको जैमिनी नगरपालिकाले जनाएको छ ।
जलविद्युत् आयोजना बाढीले बगाउँदा पैयुथन्थापका एक सय २२ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको र क्षतिको मूल्याङ्कनका आधारमा राहत दिइने नगरपालिकाले जनाएको छ ।