सत्तारुढ नेपाली काँग्रेसले तीन वटा विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार मध्यान्ह निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तीन वटा विषयमा प्रमुख निर्वाचन आयुक्तको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकार, नयाँ मतदाता नामावली र निर्वाचन आचारसंहिताका विषयमा आयोगको ध्यानाकर्षण गरेका हन् । भेटपछि काँग्रेस महामन्त्री गगन थापाले रातोपाटीलाई भने, ‘प्रवासमा बसेका नेपालीको मतदानको अधिकारबारे हामीले लामो समयदेखि कुरा उठाइरहेको छौं । सर्वोच्च अदालतको परमादेशपछि पार्टीबाट निर्णय भएको छ ।’
उक्त विषयमा आफूहरुले फलोअफ गर्दा आयोगका पदाधिकारीहरुले सर्वोच्च अदालतको परमादेशअनुसार कानुनको मस्यौदा अबको १० दिनमै सरकारलाई दिने बताएको महामन्त्री थापाले बताए । त्यो कानुन छिटो पारित हुँदा समस्यको गाँठो फुक्ने आयोगका पदाधिकारीको भनाइ थियो । यसका लागि राजनीतिक सहमति जुटाइदिन आयोगले आग्रह गरेको थियो । काँग्रेस महामन्त्रीले यसमा अग्रसरता लिने आयोगका पदाधिकारीलाई जवाफ दिएका थिए ।
थापाले भने, ‘हाम्रो ठाउँबाट जे गर्न सकिन्छ गर्छौं । तपाईको ठाउँबाट अगाडि बढाइदिनुस् भन्ने हाम्रो कुरा रह्यो ।’ प्रवासमा रहेका नेपालीका लागि तत्काल भोट हाल्ने व्यवस्था गर्न नसकिने भए विदेशबाटै मतदाता नामावली दर्ताको व्यवस्था गर्न महामन्त्री थापा र शर्माले आयोगका पदाधिकारीलाई आग्रह गरेका थिए । महामन्त्री शर्माले नेपाल बाहिर रहेका नेपालीहरुको नोट चल्ने बनाएर मात्र नहुने भन्दै भोट चल्ने दिन बनाउनुपर्ने बताए । यसका लागि आफूहरुले आयोगसँग छलफल गरेको बताए ।
उनीहरुलाई आसन्न प्रदेश र संघको निर्वाचनमा प्रवासमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था लागू गर्न केही कठिन रहेको आयोगले सुनाएको थियो । त्यसपछि उनीहरुले त्यसको प्रक्रिया मात्र भएपनि प्रारम्भ गर्न आयोगलाई आग्रह गरेका थिए । प्रवासमा नाम सूचित गराएर नेपाल आएर भोट हाल्न पाउने अवस्थासम्म गरिदिन महामन्त्रीद्वयले आयोगलाई आग्रह गरेका थिए ।
यसमा आयोग एकदम सकारात्मक रहेको महामन्त्री थापाले बताए । उनका अनुसार साउनको पहिलो हप्ताबाट यसलाई खोल्ने गरी काम अगाडि बढाउने आयोगले आश्वासन दिएको छ । यस्तै काँग्रेसका महामन्त्रीद्वयले काठमाडौंमा भइरहेको मतदाता नामावली संकलनलाई व्यवस्थित बनाउन आग्रह गरे ।
उनले भने, ‘काठमाडौं जिल्लाका मतदाताका लागि छुट्टै र बाहिरका मतदाता जो, काठमाडौंमा बस्छन्, उनीहरुका लागि छुट्टै केन्द्र तोकेर नामावली संकलन गर्न भनेका छौं ।’ अघिल्लो पटक जस्तै स्थानीय तहमै नामावली संकलन गर्न समेत आयोगलाई आग्रह गरिएको थापाले बताए । उनीहरुलाई आयोगले भोलिदेखि उक्त व्यवस्था लागू गरिने आश्वासन दिएको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनका साथै निर्वाचन खर्च घटाउने विषयमा पनि छलफल भएको महामन्त्री थापाले जानकारी दिए ।
उनले भने ,‘निर्वाचन आचारसंहिता खाली औपचारिकताका लागि भयो । अव्यवहारिक र अनावश्यक कुरा आचारसंहिताबाट हटाऊ । निर्वाचन कम खर्चिलो बनाउनका लागि केही गर्नै पर्ने कामहरु छन् । समयमै दलसँग छलफल गरौं । यसमा हामीपनि अग्रसरता लिन्छौं । यसमा ठोस काम गरौं भनेका छौं ।’ यसमा निर्वाचन आयोगका पदाधिकारी सकारात्मक रहेको थापाले बताए । यसमा थप छलफल गरेर काम गर्न कुरा भएको उनले बताए ।