बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home समाचार दलहरू प्रदेश र संघको चुनावी तालमेलका लागि लेखाजोखा गर्दै

दलहरू प्रदेश र संघको चुनावी तालमेलका लागि लेखाजोखा गर्दै

by sambridhaonline

प्रदेश र संघको चुनावका लागि दलहरू आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् । गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा गठबन्धन बनाएर चुनाव लडेका दलहरू प्रदेश र संघको चुनावमा कसरी सहभागी हुने भन्नेबारे लेखाजोखा गर्न लागिपरेका हुन् ।

आगामी कात्तिक अन्तिम साता वा मङ्सिर पहिलो साता प्रदेश र संघको चुनाव गराउने सरकारको तयारी छ । त्यसका लागि  असार महिनाभित्रै चुनावको मिति घोषणा हुने सत्ता पक्षका नेताहरूले बताएका छन् ।

चुनावको मिति घोषणाको तयारी भइरहँदा राजनीतिक दलहरू भने गठबन्धन बनाएर उम्मेदवारी दिने या कुनै दलसँग तालमेल गरेर जाने या एक्लै प्रतिस्पर्धामा उत्रने भन्नेबारे आन्तरिक रणनीतिका लागि स्थानीय तह निर्वाचनको गम्भीर समीक्षा गरिरहेका छन् ।

नेपाली काँग्रेसले सत्तारुढ गठबन्धनलाई कायमै राखेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग पनि चुनावी तालमेलका विषयमा छलफल जारी राखेको छ । त्यसका लागि काँग्रेसका नेताहरूले भेटघाट र छलफललाई निरन्तरता दिएका छन् । कुन दलसँग कसरी तालमेल गर्दा चुनावी परिणाम र राजनीतिक लाभ लिन सकिन्छ भन्ने विषयमा काँग्रेस नेताहरू हिसाब किताब गर्न व्यस्त भएका छन् ।

यस्तै, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल लगायतका दलहरू चुनावी हिसाब किताब गरेर बसेका छन् । काँग्रेससहितको गठबन्धन बनाएर जाँदा आउने चुनावी परिणाम र नेकपा एमालेसँग तालमेल गरेर जाँदाको परिणाम र राजनीतिक लाभका विषयमा माओवादीले विश्लेषण गर्न थालेको छ ।

एमालेका नेताहरू माओवादीलाई सत्ता गठबन्धनबाट अलग बनाई आफूसँग चुनावी तालमेल गराउन प्रयासरत छन् । त्यसका लागि एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।

यता माओवादीका वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायत नेताहरू काँग्रेस र एमाले दुवै पक्षसँगको भेटघाटमै छन् । वाम तालमेलका विषयमा सबैभन्दा बढी एमाले सक्रिय देखिएको छ । बाहिर माओवादीको विरोध गरे पनि भित्री रूपमा एमाले नेताहरू वाम गठबन्धन गर्नुपर्ने भन्दै लविङ गर्न थालेका छन् ।

अहिले एमालेले सकेसम्म सत्ता गठबन्धन फुटाउने र माओवादीसँग वाम गठबन्धनका नाममा तालमेल गरेर चुनावमा जाने योजना बनाएको छ । त्यसो हुन नसकेमा सत्ता गठबन्धन फुटाएर चुनावी प्रतिस्पर्धाबाट आफूले राजनीतिक लाभ लिनेगरी एमाले नेताहरूले गतिविधि बनाएका छन् । त्यसो भएमा संघीय चुनावमा पहिलो शक्ति भई सत्ताको चाबी लिने एमालेको दाउ छ ।

एकीकृत समाजवादी, जसपा र जनमोर्चा यही गठबन्धन कायम राखेर प्रदेश र संघको चुनावमा जाने प्रतिबद्धता जनाइरहेका छन् । सत्ता गठबन्धनबाटै लाभ लिन सक्ने भएकाले अन्य दलसँगको समीकरणमा एकीकृत समाजवादी र जसपाले त्यति चासो राखेका छैनन् । त्यसैले उनीहरू तत्काल चुनावको मिति घोषणा गरेर भागबण्डा टुंगो लगाउनुपर्ने उनीहरूको भनाइ छ ।

कतिपय शक्तिहरू सत्ता गठबन्धन फुटाएर काँग्रेस, एमाले लगायत दलको गठबन्धन बनाउन सकिन्छ कि भनेर बल गरेको सत्ता गठबन्धनका एक शीर्ष नेताले बताए । ‘अहिलेको गठबन्धन फुटाएर काँग्रेस, एमाले, लोसपासहितको गठबन्धन बनाउन सकिन्छ कि भनेर कतिपय शक्ति लागिपरेका छन्,’ ती नेताले भने, ‘तर, त्यस्तो गठबन्धन बन्ने सम्भावना कम छ । त्यो अवस्था बनाउन गाह्रो छ ।’

अहिलेको प्रदेश र संघको चुनावका लागि कस्तो गठबन्धन र कोसँगको तालमेलमा बढी फाइदा हुन्छ भन्ने लेखाजोखा बढी गर्नेमा काँग्रेस, एमाले र माओवादी केन्द्र देखिएका छन् । कस्तो गठबन्धनबाट कस्तो परिणाम आउन सक्छ र कसको सरकार बन्छ भन्नेसम्म दलहरूले लेखाजोखा गरिराखेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline