साउन ८,पोखरा – कास्कीमा गत आर्थिक वर्ष २०८१/८२ मा ९४ हजार सात सय ५२ जना सवारी चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका इन्चार्ज प्रहरी निरिक्षक शोभा पाण्डेका अनुसार ट्राफिक नियम उल्लङ्घन गरि सवारी चलाउने चालकहरुलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमध्येमा १३ हजार ३ सय ९ जना मादक पदार्थ सेवन (मापसे) गर्ने सवारी चालक रहेका छन् । इन्चार्ज पाण्डेका अनुसार लागु पदार्थ सेवन (लापसे), क्षमताभन्दा बढि यात्रु र सामान ढुवानी गर्ने तथा लाइसेन्स बिना सवारी चलाउनेहरु बढि मात्रामा कारबाहीमा पर्ने गरेका छन् ।
व्यवस्थित पार्किङ नहुनु कास्कीमा ट्राफिक व्यवस्थापनको मुख्य समस्याका रुपमा रहेको छ । जथाभावी रुपमा सवारी पार्किङ हुनु र डेडिकेटेड पार्किङ नहुँदा सवारी व्यवस्थापनमा समस्या देखिने गरेको इन्चार्ज पाण्डेले बताउनुभयो । यसले दुर्घटनाको जोखिम समेत बढाउने उहाको भनाई छ ।
सवारीको चापलाई व्यवस्थित बनाउनका लागि पोखराका मुख्य चोकहरु पृथ्वीचोक, सिर्जनाचोक, जिरोकिलोमिटरमा ट्राफिक लाइटको व्यवस्था गरिएको छ । इन्चार्ज पाण्डेले सवारी चालक, पैदलयात्रु र सर्वसाधारणलाई ट्राफिक नियमहरु पालना गर्न समेत आग्रह गर्नुभएको छ।