साउन १४,पोखरा – प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ को अवसरमा पोखरा महानगरपालिकाले किसानहरुलाई सम्मान गर्ने भएको छ । कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकलाई साउन १६ गते सम्मान गर्ने पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
नेपाल सरकारले ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ देशव्यापी रूपमा राष्ट्रिय कोदो दिवस मनाउने लागेको हो । दिवसका अवसरमा पोखरामा कोदो कागुनो लगायतका कोदोजन्य बाली÷खेती उत्पादन गर्ने कृषकलाई सम्मान तथा प्रोत्साहन प्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।
कार्यक्रममा सहभागिताका लागि कृषकहरूले आफ्नो नाम ठेगानासहित खेती गरिएको कोदोजन्य बालीको प्रकार, लगाएको क्षेत्रफल (रोपनी), वार्षिक उत्पादन परिमाण लगायत विवरण समेतको फारम भरि यही श्रावण १५ गतेभित्र कृषि विकास महाशाखा वा कृषि विकास केन्द्रहरूमा बुझाउनु पर्नेछ ।
परम्परागत बालीको संरक्षण, कोदोजन्य पोषिलो अन्नको प्रवद्र्धन, कृषकहरूको आम्दानी वृद्धि, कोदो खेती प्रति कृषकहरूको आकर्षण वृद्धि र स्थानीय खाद्य प्रणाली सुदृढ तथा खाद्य सुरक्षालाई टेवा प्रदान गर्ने मुख्य उद्देश्यले कोदो दिवस विशेष कार्यक्रम आयोजना गरिएको कडरियाले बताउनुभयो।