साउन १५,पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ । एक शिक्षक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पहिरोमा परी धादिङ स्थायी वतन भई पोखरा महानगरपालिका–२५, हेम्जा निवासी २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
घाचोकको लस्तीखोला स्थित हेमजा-माछापुच्छ्रे सडक खण्डमा बिहान करिब १० बजे पहिरो खस्दा तेजबहादुरको मृत्यु भएको डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिनुभयो ।
बंगुर फार्मका लागि डोकोमा दाना लिएर जाँदै गर्दा गुरुङ पहिरोमा परेका थिए। उनी सम्पर्कविहीन भएपछि स्थानीयले खोजी सुरु गरेको थियो । सडकमा माथिबाट खसेको पहिरो पन्छाउने क्रममा दिउँसो करिब साढे २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ।
सोही पहिरोमा परेर घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन्।
पोखराबाट मोटरसाइकल चढेर विद्यालयतर्फ जाँदै गर्दा उनलाई पनि पहिरोले भेटेको थियो। स्थानीयले तत्काल उद्धार गरी उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याए । अस्पतालमा पोखरेलको उपचार भइरहेको छ।