बैशाख २५ , पोखरा – म्याग्दी जिल्लाका विभिन्न क्षेत्रमा चालेको ब्राभो सेरा अप्रेसन अन्तरगत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसा इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार बन्दुक बरामद गरेको हो । धवलागिरी गाउँपालिका ४ मुदीको बगर क्षेत्रको जंगलमा लुकाइ राखेको अवस्थामा बन्दुक बरामद भएको उहाले बताउनुभयो । जिल्ला प्रहरीले २०८२ मंसिर १५ देखि शुरु गरेको ब्राभोसेरा अप्रेसन अन्तरगत हालसम्म जिल्लाका विभिन्न क्षेत्रबाट इजाजत नभएका १४२ थान भरुवा बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
अबैध हतियारहरु चोरी शिकारीमा प्रयोग हुनुका साथै अप्रिय घटनाहरुमा पनि प्रयोग हुन सक्ने भएकाले अप्रेसन जारी राखिएको डिएसपी सूर्यबहादुर थापाको भनाई छ । ढोरपाटन शिकार आरक्ष, अन्नपुर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) तथा विभिन्न सामुदायिक वनहरुमा वन्यजन्तुको चोरी शिकारीको जोखिम घटाउनका लागि पनि यो अभियान फलदायी हुने उहाले बताउनुभयो ।