साउन २ , पोखरा – आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ । गएरातिदेखि नै मनसुन थप सक्रिय भएसँगै पोखरा , काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पानी पर्नेक्रम सोमबारसम्म नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार हिजो/अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका थोरै ठाउँमा ठूलो वर्षा तथा एक/दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा पनि मुसलधारे वर्षा हुनसक्ने अनुमान छ । भोलि आइतबार र पर्सि सोमबार पनि मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मुसलधारे र आरीघोप्टे वर्षाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन र यात्रा गर्नुपूर्व पनि मौसम र सडकको अवस्थाबारे पूर्व जानकारी लिन मौसमविद्को अनुरोध छ ।
मौसमका जानकार उज्जवल उपाध्यायले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले लामो दूरीको यात्रा नगर्न सुझाव दिनुभएको छ ।
यस्तै भोलि र पर्सि कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ । ती ठाउँको नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध छ । आज र भोलि मनसुन थप सक्रिय भई ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुसलधारे तथा अरिघोप्टे वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट जोगिन महाशाखाले सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको हो ।