असोज २५ , पोखरा – गोर्खाको चुमनुब्री गाउँपालिका ६ मा आकस्मिक बाढी आएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आज बिहान चार बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर पाएको बताउनुभयो। उहाका अनुसार बाढीले मानवीय क्षति पुर्याएको जानकारी छैन । अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको उहाले बताउनुभयो ।
चुमनुब्री गाउँपालिका ६ चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढी आएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । बाढीले तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार जोखिममा रहेको स्थानीयले बताएका छन् । जोखिमका कारण कतिपय विस्थापित भएका छन् । बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढी आएकाले सतर्कता अपनाउन भन्दै एसएमएस पठाएको छ ।