फाल्गुन ०६,पोखरा – पोखराको फेवातालमा डुङ्गा चलाउने चालकहरूको सोमबार मादक पदार्थ सेवन मापसे जाँच गरिएको छ । डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गर्ने गरेको भन्ने गुनासो पश्चात पर्यटकको सुरक्षाका लागि प्रहरीले डुङ्गा चालकको मापसे जाँच गरिएको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको उपस्थितिमा अनुगमन गरिएको हो ।
प्रहरी प्रमुख ओलियाले पोखरामा आउने धेरै पर्यटकले फेवातालमा बोटिङ गर्ने गर्दा डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गरेको, यात्रुहरूसँग राम्रो व्यवहार नगर्ने गरेको भन्ने लगायतका गुनासो आएपछि अनुगमन गरिएको बताए । यथार्थ के हो भन्ने बारेमा जान्नका लागि संयुक्त रुपमा अनुगमन गरेर मापसे चेक गरिएको उनले खुलाए । बाराही घाट र फिस्टेल गेटमा रहेका डुङ्गा चालकलाई मापसे चेक गर्दा एकजना चालक मापसे गरेको अवस्थामा भेटिएका थिए । मापसे गरेर डुङ्गा चलाउन हुने रहेनछ भन्नेमा सजग गराउनको लागि यो कार्य गरिएको उने प्रष्ट पारे । अनुगमनका क्रममा भेटिएका मापसे गर्ने डुङ्गाचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लापरवाही गर्ने डुङ्गा चालकलाई कानुनी अनुसार कारबाही अगाडि बढाउने उनको भनाइ छ । यो अनुगमन कार्य निरन्तर रहने कास्कीका प्रहरी प्रमुख ओलियाले जनाए ।
समाचार
फाल्गुन ०६, पोखरा – अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ६१ वर्षीय संखबिर गुरुङको घरबाट लुकाइराखिएको अवस्थामा एक नाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद गरिएको छ । यस्तै, ६८ वर्षीय कृष्णबहादुर गुरुङको घरमा पनि लुकाइराखिएको एक नाले बन्दुक फेला परेको थियो ।
तीन थान भरुवा बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हाल उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
आईपीएल २०२५ को खेल तालिका सार्वजनिक : पहिलो खेलमा कोलकाता र बेंगलुरु खेल्ने
फाल्गुन ०६,पोखरा – आउँदो महिना शुरू हुने १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
मार्च २२ देखि शुरू हुने आईपीएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले खेल तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । पहिलो खेल कोलकातामै हुनेछ ।
त्यसैगरी दोस्रो खेल मार्च २३ को दिउँसो सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको बीचमा हुनेछ भने त्यही दिन बेलुका मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।
त्यस्तै मार्च २४ मा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स तथा मार्च २५ मा पञ्जाब किङ्स र गुजरात टाइटन्सले आ–आफ्नो पहिलो खेल खेल्ने छन् ।
फाइनल खेल मे २५ मा कोलकाताको इडेन गार्डेन्समा हुनेछ । गएको संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाताले तेस्रोपटक उपाधि जितेको थियो ।
फाल्गुन ०५,पोखरा – माघ महिनामा गाडी दुर्घटनामा परेर एक सय ९९ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार ५ सय ३५ वटा गाडी दुर्घटना हुँदा एक सय ९९ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा एक सय ४७ पुरुष, ३९ महिला, ११ बालक र २ बालिका छन् । माघमा गाडी दुर्घटनामा ५ सय ६० जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५१ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
माघ महिनामा सबैभन्दा धेरै २ हजार ४ सय ७४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ९ सय ६२, बस २ सय ५१, टेम्पो २ सय ३५ वटा दुर्घटनामा परेका छन् । २ सय ७३ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।
सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् । यस्तै बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म पनि धेरै दुर्घटना भएका छन् । राति १२ बजेदेखि बिहान ६ बजेसम्म काम दुर्घटना भएका प्रहरीको तथ्याङ्क छ ।
गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, चालकले ध्यान नदिनु, जाँड–रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले माघ महिनामा १ लाख १८ हजार ९ सय ८१ जना चालकलाई कारबाही गरेर ९ करोड ५९ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।
अर्थमन्त्री पौडेल ‘डिस्चार्ज’, मेयर आचार्यलाई थप केही दिन अस्पतालमा राखिने
फाल्गुन ०५,पोखरा – पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्कनुभएको छ ।
अस्पतालमा दुई दिनदेखि उपचार गराइरहनुभएका पौडेल आज ‘डिस्चार्ज’ हुनुभएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उहाँलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ ।
‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै अर्थमन्त्री पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ’, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ ।’
सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ ।
फाल्गुन ०५,पोखरा – कास्कीको माछापुच्छ्रे गाँउपालिका– ७ बाट एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजासहित १ जना पक्राउ परेका छन् ।
स्थानीय ७२ वर्षका आईत सिं गुरुङलाई भरुवा बन्दुक र गाँजासहित शनिबार अपरान्ह्र १२ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले गुरुङको घरकोठा खानतलासी गर्दा उनी सुत्ने कोठा भित्र अबैध रुपमा राखिएको एक नाले भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने बारुदजस्तो देखिने कालो पदार्थ ३५० ग्राम र लागू औषध गाँजा १ किलो ५०० ग्राम समेत फेला परी बरामद गरेको छ ।
गुरुङले लागूऔषध गाँजा सञ्चय तथा विक्री वितरण गर्नुका साथै हातहतियार (बन्दुक) राखि वन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्यसूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।
पक्राउ गरेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना र लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
फाल्गुन ०५,पोखरा- खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको छ।
आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू भएको थियो। आगो २ घण्टापछि नियन्त्रणमा लिइएको थियो। हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईका अनुसार स्थानीय नागरिक, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रण्मा लिएका हुन्।
स्थानीय पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आगो सुरु भएको थियो। पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ। राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ। नजिकै रहेको प्रकाशचन्द्र गिरीको घरमा पनि क्षति पुगेको बताइएको छ। आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी छ।
पोखरा घटना छानबिन गर्न समिती गठन
फाल्गुन ०४,पोखरा – पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहमा भएको घट्नाका सम्बन्धमा छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन ।
समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन । समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ पनि राखिने छ ।
समितिलाई घट्नाको विस्तृत छानबिन गरी आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा अपनाउनु पर्ने पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपाय सहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ । घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भै उपचाररत छन ।
कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल र नगर प्रमुख आचार्यको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
उज्वेकिस्तानी टोली ब्ल्याक बुल्स क्लबले उचाल्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
फाल्गुन ०४,पोखरा – उज्वेकिस्तानी टोली ब्ल्याक बुल्स क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि उचालेको छ । सहारा क्लब पोखराको आयोजनामा शनिबार सम्पन्न २४ औं संस्करणको फाइनलमा खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै ब्ल्याक बुल्स च्याम्पियन बनेको हो ।
इतिहास रच्ने दाउमा रहेको पुलिस ब्ल्याक बुल्ससामु निरीह रह्यो । यो जितले गोल्डकपमा नयाँ च्याम्पियनमात्रै पाएन, पुलिसको सातौं पटक च्याम्पियन बन्दै इतिहास रच्ने सपनासमेत भंग गरिदिएको छ । खेलको सुरुवातमा पुलिसले केही दबाब दिए पनि त्यो पर्याप्त हुन सकेन । डेडबलमा सिकार गर्न खोजेको पुलिसले खासै अवसर पाउन सकेन । पहिलो हाफमा १–० को अग्रता लिएको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप दुई गोल गर्दा पुलिसले एक गोल फर्कायो । ३९ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै उज्वे टोलीले अग्रता लियो । एजिलबेकको क्रसपासलाई स्लोमजोनले नियन्त्रणमा लिन खोज्दा पुलिसका प्रज्वल चौधरीले खुट्टामा हान्न पुगेका थिए । सोही क्रममा पाएको फ्रिकिकमा ज्याकहोंगिरले गरेको प्रहारलाई गोलरक्षकले समाएको बल फुत्किएर गोल हुन पुगेको थियो । त्यसपछि भने पुलिसले लय विगा¥यो । ५९ औं मिनेटमा एजिजबेकको पासलाई नियन्त्रणमा लिँदै एजिलबेकले एक डिफेन्डरलाई विट गर्दै गरेको प्रहारले जाली चुम्यो ।
६६ औं मिनेटमा पुलिसका भक्तजंग खड्काले गल्तीको फाइदा उठाउँदै सावक्तजोनले सुन्दर गोल गरे । प्रज्वलले दिएको ब्याक पासलाई नियन्त्रणमा लिन प्रयास गर्न भक्तजंग चिप्लिन पुगे । सोही बललाई सावक्तजोनले अघि बढाउँदै गरेको प्रहारालाई अनमार्क रहेका पुलिसका गोलरक्षक शत्रुधन चौधरीले कुनै बचाउने अवसर नै पाएनन् । खेलको ७४ औं मिनेटमा पुलिसले १ गोल गर्दै ३–१ को स्थितिमा ल्यायो । पुलिसका उज्वल राईले प्रहार गरेको उत्कृष्ट फ्रिकीक ब्ल्याबुल्सका डिफेन्डर एलिजोनको हेडमा लाग्दै जाली चुम्यो ।
फाल्गुन ०४,पोखरा – पर्वत जिल्लाको महाशिला गाउँपालिकाले पालिका गान तयार गरी सार्वजनिक गरेको छ । गाउँपालिकाका प्राविधिक सहायक नारायण गौतमले गानको रचना गरेका हुन् । गानमा गाउँपालिकाको पहिचान, इतिहास, भूगोल, संस्कृति, भेषभुषा, विकास, रहनसहनलगायत विषयवस्तु समेटिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताए ।
गीतको लय राजेन्द्र पाण्डेको छ भने रचना रिमाल र राजेन्द्र पाण्डेकोे स्वरमा रहेको छ । छनौट समितिले दिएको नम्बरको आधारमा प्रथम स्थानमा रहेको रचनालाई छनौट गरी पालिका गान तयार गरिएको हो ।