समाचार
गठबन्धनका उम्मेदवारलाई जिताउन पूर्णगाउँका एमाले कार्यकर्ता गठबन्धनमा प्रवेश
पर्वत : जनताले निर्वाचनको बेलामा उम्मेदवारलाई जितउने भनेकै आफ्नो गाउँठाउँको विकासको लागि हो । रोजगारी, स्वास्थ्य, शिक्षा, विकासका पूर्वाधार लगायतका क्षेत्रमा उत्तिकै विकास होस भन्ने अपेक्षा नागरिकमा हुन्छ । तर जब आसा गरिएको कुरा नेतृत्वबाट पूरा हुँदैन तब नागरिकमा बितृष्णा उत्पन्न हुन्छ ।
यसैको एउटा उदाहरण हुन पर्वतको मोदी गाउँपालिका–३ पूर्णगाउँका बासिन्दा । त्यहाँका झण्डै दुई दर्जन भन्दा बढी नेकपा (एमाले) का कार्यकर्ताहरु आफू रहेको पार्टीमा असन्तुष्टी व्यक्त गर्दै गठबन्धनका उम्मेदवारहरुको पक्षमा लागेका छन् । नेताहरुले गाउँको विकासका लागि आश्वसन दिएको भए पनि आफैले बोलेका कुराहरु पूरा गर्न नसकेको भन्दै उनीहरु वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा आएका हुन् ।
उनीहरुलाई गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेश सभा–१ का उम्मेदवार सुदीप कुंवर, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यद्वय गुप्त हमाल र मनहरि तिमिल्सिना, नेपाली कांग्रेसका नेता ललितकला गुरूङ लगायतले स्वागत गरेका छन् ।
यसैबीच, सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले सोमबार मोदी गाउँपालिका–८ चित्रेमा चुनावी अभियानका क्रममा घरदैलो तथा कोण सभा सम्पन्न गरेका छन् । कार्यक्रमा नेपाली काँग्रेस मोदी गाउँपालिकाका सभापति भिमप्रसाद लम्साल, उपसभापति तिलक पौडेल, चित्रेमा गठित संयुक्त गठबन्धन प्रचारप्रसार सदस्य तारा गुरुङ सहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सो अबसरमा बोल्दै गठबन्धनका उम्मेदवारहरुले पर्यटन र कृषि उत्पादनका हिसाबले महत्वपूर्ण रहेको मोदीको विकासको लागि आफूहरुले जनताको माग अनुसार काम गर्ने बताएका छन् । स्थानीय सम्भावनाहरुको पहिचान भएर पनि आवश्यक पूर्वाधार विकासको काम नहुँदा नागरिकले नेतृत्वको अभाव महसुस गरिरहेको भन्दै उनीहरुले मोदीको विकास र त्यहाँका आम नागरिकको दैनिकीलाई सहज बनाउन सकेसम्मको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमहरुमा सहभागी भएका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जोशी जिल्लाका अनुभवी र कुटननीतिक नेता भएका कारण बर्षौ अगाडि गाउँगाउँमा ट्रयाक खोल्ने काम भएको बताएका छन् । विकासको सुरुवात गर्नु नै विकासको पहिलो चरण रहेको र त्यो काम नेता जोशीबाट भएकाले यस पटक जोशी सहितका गठबन्धन उम्मेदवारहरुलाई विजयी गराउन आफूहरु तयार रहेको उनीहरुले बताएका छन् ।

गठबन्धनको अभियामा बढ्दै जनलहर

पर्वत, १८ कात्तिक
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल जति तात्दै गएको छ त्यति नै गठबन्धनका उम्मेदवारप्रतिको जनलहर बढ्दैगएको छ । पछिल्लो समय नेकपा एमाले पार्टी छोडेर काङ्ग्रेसमा प्रवेश गर्नेको माहोल गाउँगाउँमा तात्दै गएको छ । मंशीर ४ गते हुने निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधिसभामा प्रभावशाली नेता अर्जुनप्रसाद जोशी र प्रदेश १ मा नेकपा माओबादीका युवा नेता सुदिप कुँवर उम्मेदवार हुनुहुन्छ । प्रदेशसभा २ मा सामाजिक अभियन्ता एवं उद्यमी ऋषिकेश तिवारी हुनुहुन्छ । तिनैजना नेता प्रभावशाली नेता उम्मेदवार भएकाले नेकपा एमाले लगायत साना दलका कार्यकर्ता गठबन्धनका दल र प्रमुख घटक नेपाली काङ्ग्रेसमा प्रवेश गर्न थालेका हुन ।
यसक्रममा कुश्मा नगरपालिका ८ का नेकपा एमालेका पार्टीको मुल नेतृत्वमा रहेका नेताहरु नेपाली काङ्ग्रेसमा प्रवेश हुनुभएको छ । प्रवेश गर्नेमा नेकपा एमाले चुवाका कार्यबाहक पार्टी अध्यक्ष हरि नारायण गिरी, नेकपा एमाले चुवाका सचिव रामचन्द्र परियार, ने क पा एमाले कुस्मा नगर सदस्य गणेश नेपाली,नेकपा एमाले चुवाको दलित मुक्ति समाजका अध्यक्ष उत्तम परियार,नेकपा एमालेमा आबद्ध मिलन परियार, टीकाराम पोख्रेल नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्ने सबैलाई नेपाली काङ्ग्रेसका नेता एबम प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेश क का सभापति राजकुमार क्षेत्रीले नेपाली काङ्ग्रेसमा स्वागत गर्नुभयो ।

पर्वतमा गठबन्धनको जित सुनिश्चित भएको भन्दै गठबन्धनको पक्षमा गोलबन्द हुन जोशीले आव्हान गर्नुभयो । उहाँले जिल्लाभरका जनताले अहिले देश लाई माया गर्ने र विकास गर्ने शक्ति पाँच दलिय गठबन्धन नै भएको भन्दै प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।
चुवाका एमाले नेताहरु लाई पार्टीमा स्वागत गर्दै एमाले पार्टी बेलैमा छोडेर परिवर्तित हुने बाटोमा लागेकोमा स्वागत र धन्यबाद ब्यक्त गर्नुभयो । प्रदेश सभा १ को सदस्य पदका उम्मेदवार नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य सुदिप कुँवरले काङ्ग्रेस, माओबादी, नेकपा एकिकृत समाजबादी, जनमोर्चा, नेकमा समाजबादी लगायतका पाँच दलका कार्यकर्ता एकाआपसमा नङ र मासुको जस्तै सम्बन्धमा जोडिएकोले सबै कार्यकर्ताले दायाँबायाँ नगरि मतदान गर्न आव्हान गर्नुभयो । गठबन्धनका उम्मेदवारले हार्दा निरंकुश, अहंकारी र प्रतिगमनकारीले जित्ने भएकाले विशेष सचेत र सजग हुन जरुरी रहेको कुँवरले बताउनुभयो । माओबादीले इमान्दार भएर गठबन्धनका उम्मेदवार लाई भोट हाल्ने र अन्य पार्टीका कार्यकर्ता पनि गम्भिर भएर आफ्ना उम्मेदवार जिताउन लाग्नुपर्ने उहाँले बताउनुभयो । गठबन्धनका उम्मेदवारले चुवाका बिभिन्न बस्ती र कुश्मा नगरपालिका १० पिपलटारीमा घरैघरै पुगेर भेटघाट गरेका छन । पिपलटारीबासीहरुले सधै एमालेको दास बनेर नबसि अब गठबन्धन लाई मत दिने सोचाइमा रहेको बताएका थिए ।
नेपाल प्रेस यूनियन पर्वतले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारले गाउँगाउँमा नागरिक सामू गरेका प्रतिबद्धता र नागरिकका अपेक्षाका बारेमा सूचना प्रवाह गर्ने उदेश्यले सूचना केन्द्र ‘ न्यूज डेस्क’ सञ्चालन गरेको छ । यूनियनले गठबन्धन दलमा आवद्ध सबै पत्रकार संगठनहरु लाई समेत सहभागी गराई हरेक वडा र बस्तीमा हुने चुनावी गतिविधि सहज र सरल रुपमा प्रचार गर्ने गरि सूचना केन्द्र स्थापना गरेको हो ।
सोमबार एक कार्यक्रमकाबिच प्रेस यूनियनमा आबद्ध पत्रकारहरुको उपस्थितिमा ‘डेस्क’ बाट समाचार सामग्रीहरु उत्पादनको सुरुवात गरिएको हो । निर्वाचनको बेलामा आम नागरिकलाई तथ्यपूर्ण सूचना दिएर उपयुक्त उम्मेदवारलाई मतदान गर्ने वातावरण सिर्जना गर्नका लागि सदरमुकाम कुश्मा स्थित आचार्यचोकमा प्रेस यूनियनको कार्यालय समेत स्थापना गरेर ‘डेस्क’ राखिएको हो ।
प्रेस यूनियन पर्वतका अध्यक्ष उत्तमप्रसाद अधिकारीका अनुसार ‘डेस्क’ बाट आम नागरिकले भोगिरहेको साझा समस्या, नागरिकले अपेक्षा गरेका सामाजिक परिवर्तनका विषय तथा पूर्वाधार निर्माणको क्रम लगायत जिल्लाको समग्र अवस्थाका बारेमा खोजी गर्ने र तिनलाई सञ्चार माध्यमबाट प्रकाशन गर्ने काम हुने छन् । प्रेस यूनियनको आज बसेको बैठकले डेक्समा रहने प्रतिनिधी लाई जिम्मेवारी पनि तोकेको छ । डेस्क बाहिर रहेर स्थानीय स्तरमा भइरहेका क्रियाकलापहरुको रिपोर्टिङ गर्ने गरी पनि जिम्मेवारी बाँडफाँट गरिएको यूनियनका सचिव सुमनजंग थापाले बताए ।
‘न्यूज डेस्क’ का संयोजक ओमप्रसाद घायलले जनताका अपेक्षा सम्बन्धित तहसम्म पु¥याउने बताउँदै जनताको अनुभूतिका कुरा बाहिर ल्याउने काम ‘डेस्क’ बाट हुने बताए । भएकाले जनजीविकालाई सहजीकरण गर्न सहयोग पुग्ने गरी प्रेस यूनियनले समाचार सामग्रीहरु तयार पार्ने उनको भनाई छ ।
पर्वत ३० साउन
कुश्माकै सबैभन्दा पुरानो गुप्तेश्वर बहुमुखी क्याम्पसमा प्रजातन्त्रबादी प्राध्यापक संघ गठन भएको छ । प्रजातन्त्र र लोकतन्त्रमा आस्था राख्ने प्राध्यापकहरुको भेलाको दोस्रो अधिवेशनबाट रमेश शर्माको अध्यक्षतामा नौ सदस्यिय नयाँ कार्यसमिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा जयराम सुबेदी, सचिवमा कुलचन्द्र पौडेल, कोषाध्यक्षमा इन्द्र अधिकारी र सहसचिवमा धनप्रसाद भण्डारीलाई सर्वसम्मत चयन गरिएको हो । समितिका सदस्यहरुमा ओमकार गिरी, दुर्गा पाण्डे पन्त, प्रकाश रिजाल र अगन्धर तिवारीलाई चयन गरिएको छ ।
भेलाले नेपाल प्रजातन्त्रबादी प्राध्यापक संघको आसन्न पाचौं राष्ट्रिय महाधिवेशनका लागि चार जना महाधिवेशन प्रतिनिधि पनि छनोट गरेको छ । महाधिवेशन प्रतिनिधिहरुमा हरिनारायण रेग्मी, बलराम रिजाल, ओमकार गिरी र सुभाष पन्तलाई चयन गरिएको सहायक प्राध्यापक हरिनारायण रेग्मीले जानकारी दिए ।
यसअघि २०७५ साल असोज २३ गते नवराज शर्माको अध्यक्षतामा गठित समिति केहि निस्कृय भएका कारण उक्त समितिलाई गति दिनका लागि सोमबार नयाँ समिति गठन गरिएको हो । नवगठित समितिकै सक्रियतामा अब निकट भविष्यमै प्रजातान्त्रिक प्राध्यापकहरुको जिल्ला भेला डाकेर जिल्ला समिति गठन गरिने नवनिर्वाचित अध्यक्ष रमेश शर्माले बताए । समितिले क्याम्पसमा शैक्षिक तथा भौतिक पुर्वाधारको विकास, बिभिन्न साझेदार निकायमा प्राज्ञिक बहस, सम्बाद तथा छलफलको माध्यमबाट प्राध्यापकहरुको क्षमता विकास र समस्या समाधानमा समेत भूमिका खेल्ने नयाँ कार्यसमितिले लक्ष्य राखेको छ । कार्यक्रमा बोल्दै गुप्तेश्वर क्याम्पसप्रमुख सुभाष पन्तले नवगठित समितिले पेसागत सीमा र मर्यादाभित्र रहेर क्याम्पसको सर्वाङ्गिर्ण विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
पर्वत, ६ साउन
आज साउन ६ गते । राष्ट्रिय मेलमिलाप दिवस । अर्थात् महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४० औं स्मृती दिवस । जननायक, महामानव लगायतका उपनामले परिचित नेपाली कांग्रेसका संस्थापक एवं जनताबाट निर्वाचित पहिलो प्रधानमन्त्रीका रुपमा आम नेपाली राजनीतिक बृत्तले कोइरालालाई स्मरण गरिरहन्छ ।
उनै कोइरालाको चालीसौं स्मृति दिवसको अवसर पारेर पर्वत कांग्रेसले कुश्मा नगरपालिका–५ मोदीबेणीमा एक कार्यक्रम आयोजना ग¥यो । मोदीबेणीस्थीत जेष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका १५ जना जेष्ठ नागरिकलाई फलफुल बितरण गरेर कोइरालाको स्मरण गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशी, उपसभापति शिव सुबेदी, कोषाध्यक्ष हेम शर्मा, सहसचिव एवं प्रवक्ता अच्युत तिवारी लगायत नेताहरु सहभागि थिए ।
जेष्ठ नागरिक आश्रमका अध्यक्ष दीर्घनारायण श्रेष्ठ, उपाध्यक्ष खुमराज पराजुलीको रोहवरमा सबै जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गर्दै सभापति जोशीले यो सामान्य भेटघाट मात्रै भएको भन्दै आश्रमका लागि जस्तोसुकै सहयोग गर्न पार्टी तयार रहेको बताए । उनले आफुले व्यक्तिगत तर्फबाट १५ बोरा चामल सहयोग गर्ने प्रतिवद्दता समेत जनाए ।
कार्यक्रममा बोल्दै जोशीले ‘हरेक किसानको घरमा एउटा दुहुनो गाइ होस्, पर्याप्त खानपुग्ने जमिन होस् अनि बिरामी पर्दा उपचार गर्ने पैसा साथमा होस् । अनि मात्रै देसको विकास हुन्छ,’ भन्ने नाराका साथ राजनीतिमा होमिएका कोइरालाको सपना अझै पुरा हुन नसकेको बताए ।
नेपालमा अस्थीर राजनीतिका कारण अझै जनता मालिक हुन नसकेको बताउँदै जोशीले राजनीतिक स्थीरताका लागि नेपाली कांग्रेसलाई बहुमत दिएर जनताले सरकार सञ्चालनको अवसर दिनुपर्ने बताए । आश्रमका अध्यक्ष र अन्य पदाधिकारीहरुले महामानव बिपि कोइरालाको स्मृती दिवसका अवसरमा आश्रमलाई सम्झेकोमा धन्यबाद ज्ञापन गरे । पर्वत सभापति जोशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव एवं प्रवक्ता तिवारीले गरेका थिए ।

पर्वत, २ साउन
राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाका रुपमा चिनिएको कालीगण्डकी प्रसारण लाइनको कुश्मा–बुटवल बितरण लाइनले यतिबेला फलेवास–६ देविस्थान र बिशेषगरि फलेवास नगरपालिकालाई नै टाउको दुखाइको विषय बनेको छ । फलेवासले केहि वर्ष अघिदेखि ‘नगरको गौरव’ को आयोजनाका रुपमा निर्माण गरिरहेको फलेवास रङ्गशालालाई ठीक बिचभागमा पर्नेगरि २२० केभिका टावर निर्माण गर्न लागेपछि देविस्थानबासी नागरिक र फलेवास नगरपालिका नै त्यसको बिरोधमा उत्रिएका छन् । आयोजनाका तीनवटा टावर निर्माण गर्दा नगरकै गौरवका रुपमा रहेको रङ्गशाला, निर्माणाधिन बसपार्क र दुईवटा विद्यालयमा समेत असर पर्ने भएकोले कुनै पनि हालतमा उक्त टावर बैकल्पिक बाटोबाट लैजान फलेवासबासीले दबाब दिने चेतावनी दिएका छन् ।
कालीगण्डकी करिडोर प्रसारण आयोजनाकोे कुश्मा–बुटवल खण्ड बिस्तारको लाइन सार्न माग गर्दै केहि महिनादेखि नै फलेवासको देविस्थानबासी आन्दोलनमा छन् । नगरकै गौरवका रुपमा निर्माणाधिन फलेवास रङ्गशालाको माथिबाट लाइन बिस्तार गर्दा रङ्गशाला नै बिस्थापित हुने भन्दै देविस्थानबासी र समग्र फलेवासका जनप्रतिनिधि समेतले आयोजनाको बिरोधमा उत्रिएका हुन् । आयोजनापक्षले एकतर्फि रुपमा पेलेर अघि बढ्न खोजेको भन्दै आइतबार सर्वदलिय बैठक बसेका फलेवासका राजनीतिक दल, नगरप्रमुख, उपप्रमुख लगायतले जिल्ला प्रशासनले समेत आयोजनाकै पक्षमा निर्णय गरेको भन्दै प्रशासनको समेत बिरोध गरे । बैठकले गत १६ असारमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकमा सिडिओले समेत देविस्थानबासीको मर्म नबुझि सामन्ति शैलिमा आयोजनाको पक्षमा निर्णय गरेको भन्दै निर्मम भएर सिडिओ र प्रशासनको समेत बिरोध गर्ने चेतावनी दिएका छन् ।

खुर्कोटदेखि बुटवलसम्मका दुई सय ३३ मध्ये २३० टावर निर्माण भइसकेको आयोजनाले जनाएको छ । देविस्थानबासीले एपी १० ए, एपी १० बी र एपी ११ गरि तीनवटा टावर निर्माणका क्रममा बिरोध जनाएको आयोजनाप्रमुख चन्दनकुमार घोषले बताए । आयोजनाप्रमुख चन्दनकुमार घोषले कुनै हालतमा टावर अन्यत्र सार्न नमिल्ने दाबी गरेका छन् ।
आयोजनाको खुर्कोट–बुटवल प्रसारण लाइन २२० केभिए क्षमताको हो । सोहि आयोजनाको पहिलो खण्ड दाना–खुर्कोट अघिल्लो वर्षको माघमै सम्पन्न भइसकेको छ । २२० केभिएको ८८ किलोमिटर लामो लाइनमार्फत बुटवल जोड्ने कार्यक्रम छ । दानादेखि खुर्कोट सम्मको लाइनमा ५०० मेगावाट र खुर्कोटदेखि बुटवल सम्मको प्रसारण लाइनमा १५ सय मेगावाटसम्म विद्युत प्रसारण क्षमता रहेको आयोजनाले जनाएको छ ।
यसै विषयमा सोमबार फलेवासका नगरप्रमुख गंगाधर तिवारी र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाबिच कुराकानी भएको छ । जिल्ला प्रशासनमा भएको छलफलमा प्रजिअ सापकोटाले उक्त आयोजनाको काम एलाइनमेण्ट अनुसार नै गर्न सहयोग गर्नुपर्ने बताएका थिए । तर, नगरप्रमुख तिवारीले देविस्थान र फलेवासबासीले कुनै पनि हालतमा उक्त स्थानमा टावर निर्माण गर्न नदिने भएकोले बैकल्पिक बाटोबाट लाइन बिस्तार गर्न अनुरोध गरेको बताए । ‘मैले फलेबासबासी जनताको चाहना बिपरित काम हुन दिन्न,’ तिवारीले भने, ‘नगरकै गौरवको आयोजनालाई असर पर्नेगरि लाइन बिस्तार गर्नखोजे अप्रिय घटना घट्नसक्ने र त्यसको जिम्मेवारी प्रशासन र आयोजनाले लिनुपर्छ भनेका्े छु ।’ फलेवास नगरपालिका र नगरबासी जनता विकासबिरोधि नभएको भन्दै तिवारीले विकल्प हुँदाहुँदै विकासका नाममा गाउँ नै बिस्थापित गर्नेगरि अघि बढ्जन नहुने बताए ।
पर्वत, २ साउन
पर्वतको फलेवास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यसअघि कार्यरत प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद श्रेष्ठको स्थानमा उपसचिव नेत्र पौडेल हाजिर भएका हुन् । यहि साउन १ गते (आइतबार) हाजिर भएका पौडेललाई फलेवासका नगरप्रमुख, उपप्रमुख तथा कर्मचारीहरुले स्वागत गरेका छन् ।
कुश्मा नगरपालिका–८ चुवा स्थाई घर भएका पौडेल धादिङको निलकण्ठ नगरपालिकाबाट सरुवा भई फलेवास नगरपालिका आएका हुन् । यसअघि जिल्ला कारागार कुश्माको जेलर, पर्वतकै पैयुं गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत समेत भइसकेका पौडेलको करिव एक दशक लामो निजामती सेवाको अनुभव छ ।

आइतबारदेखि नै कार्यभार सम्हालेका पौडेललाई नगरप्रमुख गंगाधर तिवारीले नगरबासी आम जनताहरुको सेवकका रुपमा काम गर्न र नगरको चौतर्फि विकासका काममा सहयोग र सहकार्य गर्न अनुरोध गरे । उपप्रमख शोभा क्षेत्रीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकालको सफलताको कामना गर्दै नगरलाई समृद्ध नगर र शुखी नगरबासी बनाउन कर्मचारीहरुको पनि महत्वपुर्ण भूमिका हुने भएकोले त्यसको नेतृत्व गर्न आएका पौडेललाई नगरबासीको मन जितेर कार्यसम्पादन गर्न आग्रह गरिन् ।
कार्यपालिकाको कार्यालयमा सहभागि राजनीतिक दलका नगरस्तरिय नेताहरुले समग्र नगरको विकासमा जनप्रतिनिधिलाई सफल वा असफल बनाउने मुख्य भूमिका कर्मचारीको हुने भएकोले त्यसतर्फ पनि ख्याल गर्न आग्रह गरे । नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफु जन्मेहुर्केको र पर्वतका सबै क्षेत्रको भौगोलिक अवस्थाबारे जानकार भएकोले विकासनिर्माण र सेवाप्रवाहमा जनप्रतिनिधिलाई सघाउने र कार्यसम्पादन चुस्त रुपमा अघि बढाउने प्रतिवद्धता जनाए ।

बस्ती खवर (पर्वत) । नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नको बारेमा नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।
नेकपा माओवादीको पूर्वस्थायी कमिटी नेताहरुको आज ९बुधबार० बसेको बैठकले बजेटमाथि उठेका प्रश्नको एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो । सोही बैठकमा मन्त्री जनार्दन शर्माले आफू निर्दोष रहेको जिकीर गर्नुभएको थियो ।
संसदमा बजेट पेश गर्नुभन्दा अघिल्लो दिन अनाधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएको छ । सोही दिनको सीसीटीभी फुटेज मेटाइएकामा पनि अर्थमन्त्रीको आलोचना हुँदै आएको छ ।
सोही विषयमा छानबिन गर्न संसदीय समिति बनाउन सकिने भएपनि त्यसका लागि संसद बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्न पाउनुपर्ने माओवादीको तर्क छ । 
बस्तीखबर सम्वाददाता, रुकुमपुर्व
विगत पाँचवर्षदेखि रुकुमको पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका दुरदराजमा रहेका विभिन्न विद्यालय र विद्यार्थीका समस्यालाई सम्बोधन गर्दै आएको पोखरास्थित कर्मफ्लाइट्स फाउन्डेसनले विद्यार्थीलाई छात्रवृत्ति वितरण र चारवटा विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको छ । यहि असार ४ देखि ११ गते सम्म उक्त कार्यक्रमका लागि संस्थाको टोली सम्बन्धित विद्यालयमा पुगेर ‘आफन्तजन’ छात्रवृत्ति र पुस्तकालयको लागि पुस्तकहरु हस्तान्तरण गरेको संस्थाका फिल्ड कोओर्डिनटर राजु परियारले बताए । पुथाउत्तरगंगा वडा नम्बर ५ हुकामको बालकल्याण आधारभूत विद्यालय उज्र्याङमा असार १ गते, वडा नम्बर ९ को आदर्श मावि खारबाङ्ग र वडा नम्बर ४ को आधारभूत विद्यालय अर्जलमा असार २ गते पुस्तकालय स्थापना गरेको हो । त्यस्तै वडा नम्बर २ को आधारभूत विद्यालय हार्दिबाङ्गमा असार ३ गते पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको फाउण्डेसनले जनाएको छ ।
फाउन्डेसन मार्फत यी विद्ययालयहरुलाइ तीनलाख २८ हजार बराबरको पुस्तकालय हस्तान्तरण गरिएको हो । पुस्तकालय पाएपछि विद्यालयहरुले फाउण्डेशनलाई धन्यवाद दिएका छन् । त्यस्तै फाउण्डेशनले हरेक वर्ष जस्तै यो वर्ष पनि ‘आफन्तजन’ छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरुलाई छात्रवृत्तिप्रदान गरेको छ । वडा नम्बर ६ मयाङको जनजागृति आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई वर्षभरी पुग्ने शैक्षिक सामग्री तथा नगद वितरण गरेको हो । वडा नम्बर १ मैकोटको पुथा हिमालय माविका ३० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पनि शैक्षिक सामग्री तथा नगदवितरण गरेको छ ।
जनजागृति आधारभूत विद्यालय मयाङ र पुथा हिमालय मावि मैकोटका गरि ४६ जना विद्यार्थीलाई ‘आफन्तजन’ छात्रवृत्ति कार्यक्रमबाट पाँच लाख बराबरको शैक्षिक सामग्री तथा नगद वितरण गरिएको कर्म फ्लाइट्सका कार्यकारी सदस्य तथा रुकुमपूर्वका कार्यक्रम संयोजक कर्मसही घर्ती मगरले जानकारी दिए । कर्म फ्लाइट्सका फिल्ड कोर्डिनेटर राजु दास, संयोजक घर्तीमगर र भोलेन्टियर फ्रान्सेली नागरिक त्रिस्तानुको अगुवाइमा पुस्तकालय तथा छात्रवृत्ति प्रदान गरिएको हो ।

कर्मफ्लाइट्स फाउण्डेशन नेपाल, कास्की जिल्लामा गैरसरकारी संस्थाको रुपमा दर्ता भै बाल शैक्षिक सुधार, सामिजिक विकास तथा स्वास्थ्य सेवाको क्षेत्रमा दुरदराजका जनतालाइ सेवा पुर्याउदै आएको छ । संस्थाले रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयमा पनि विधिवत रुपमा कार्य बिस्तार को अनुमति प्राप्त गरि जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकामा पालिकाहरुको समन्वयमा बिशेस गरि शिक्षा र स्वास्थ्यको क्षेत्रमा विगत २०७४ साल देखि काम गर्दै आएको छ । पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर १ मैकोट बाट सेवा सुरु गर्दा यहाँको पुथाहिमालय माध्यमिक विद्यालयमा एजुकेशन फर लाइफ नर्वे को सहकार्य मा पुस्तकालय स्थापनाको लागि पुस्तक प्रदान गरिएको थियो भने पछि मैकोट लाई केन्द्र बनाएर विद्यालयको सिफारिसमा छनोट भएका दलित, अत्यन्तै निम्न आयभएका, अभिभावक गुमाएका र आफन्तहरुको सहारामा बस्ने ३० जना बालबालिकाहरुलाई दिर्घकालिन आफन्तजन छात्रवृत्ति कार्यक्रम सुरु गर्दै आएकोमा गत दुइवर्षदेखि यो आफन्तजन छात्रवृत्ति कार्यक्रम पालिकाको ६ नम्बरमा पनि लागु भै १६ जना बिपन्न तथा जेहेन्दार बालबालिकाहरुले वार्षिक १० हजार राशिको आफन्तजन छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । यी बालबालिकाहरुको परिवारको दीगो आम्दानीको लागि गतवर्ष माउ बाख्रा पनि प्रदानगरिएको जनजागृति माविका प्रधानाध्यापक चेत कुमार सेनले जानकारी दिए । संस्थाले एक बिद्यालय एक पुस्तकालय कार्यक्रम अन्तर्गत हाल सम्म पुथाउत्तरगंगा गाउँपालिकाका वार्ड १,२,३,४,५ र ६ का सम्पूर्ण विद्यालय र वडा ९ नम्बर वडा को एक विद्यालयमा पुस्तकसहितको पुस्तकालय हरु सञ्चालनमा ल्याएको कर्मफ्लाइट्स फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिए ।