बस्तीखबर सम्वाददाता, रुकुमपुर्व
विगत पाँचवर्षदेखि रुकुमको पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका दुरदराजमा रहेका विभिन्न विद्यालय र विद्यार्थीका समस्यालाई सम्बोधन गर्दै आएको पोखरास्थित कर्मफ्लाइट्स फाउन्डेसनले विद्यार्थीलाई छात्रवृत्ति वितरण र चारवटा विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको छ । यहि असार ४ देखि ११ गते सम्म उक्त कार्यक्रमका लागि संस्थाको टोली सम्बन्धित विद्यालयमा पुगेर ‘आफन्तजन’ छात्रवृत्ति र पुस्तकालयको लागि पुस्तकहरु हस्तान्तरण गरेको संस्थाका फिल्ड कोओर्डिनटर राजु परियारले बताए । पुथाउत्तरगंगा वडा नम्बर ५ हुकामको बालकल्याण आधारभूत विद्यालय उज्र्याङमा असार १ गते, वडा नम्बर ९ को आदर्श मावि खारबाङ्ग र वडा नम्बर ४ को आधारभूत विद्यालय अर्जलमा असार २ गते पुस्तकालय स्थापना गरेको हो । त्यस्तै वडा नम्बर २ को आधारभूत विद्यालय हार्दिबाङ्गमा असार ३ गते पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको फाउण्डेसनले जनाएको छ ।
फाउन्डेसन मार्फत यी विद्ययालयहरुलाइ तीनलाख २८ हजार बराबरको पुस्तकालय हस्तान्तरण गरिएको हो । पुस्तकालय पाएपछि विद्यालयहरुले फाउण्डेशनलाई धन्यवाद दिएका छन् । त्यस्तै फाउण्डेशनले हरेक वर्ष जस्तै यो वर्ष पनि ‘आफन्तजन’ छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरुलाई छात्रवृत्तिप्रदान गरेको छ । वडा नम्बर ६ मयाङको जनजागृति आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई वर्षभरी पुग्ने शैक्षिक सामग्री तथा नगद वितरण गरेको हो । वडा नम्बर १ मैकोटको पुथा हिमालय माविका ३० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पनि शैक्षिक सामग्री तथा नगदवितरण गरेको छ ।
जनजागृति आधारभूत विद्यालय मयाङ र पुथा हिमालय मावि मैकोटका गरि ४६ जना विद्यार्थीलाई ‘आफन्तजन’ छात्रवृत्ति कार्यक्रमबाट पाँच लाख बराबरको शैक्षिक सामग्री तथा नगद वितरण गरिएको कर्म फ्लाइट्सका कार्यकारी सदस्य तथा रुकुमपूर्वका कार्यक्रम संयोजक कर्मसही घर्ती मगरले जानकारी दिए । कर्म फ्लाइट्सका फिल्ड कोर्डिनेटर राजु दास, संयोजक घर्तीमगर र भोलेन्टियर फ्रान्सेली नागरिक त्रिस्तानुको अगुवाइमा पुस्तकालय तथा छात्रवृत्ति प्रदान गरिएको हो ।

कर्मफ्लाइट्स फाउण्डेशन नेपाल, कास्की जिल्लामा गैरसरकारी संस्थाको रुपमा दर्ता भै बाल शैक्षिक सुधार, सामिजिक विकास तथा स्वास्थ्य सेवाको क्षेत्रमा दुरदराजका जनतालाइ सेवा पुर्याउदै आएको छ । संस्थाले रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयमा पनि विधिवत रुपमा कार्य बिस्तार को अनुमति प्राप्त गरि जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकामा पालिकाहरुको समन्वयमा बिशेस गरि शिक्षा र स्वास्थ्यको क्षेत्रमा विगत २०७४ साल देखि काम गर्दै आएको छ । पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर १ मैकोट बाट सेवा सुरु गर्दा यहाँको पुथाहिमालय माध्यमिक विद्यालयमा एजुकेशन फर लाइफ नर्वे को सहकार्य मा पुस्तकालय स्थापनाको लागि पुस्तक प्रदान गरिएको थियो भने पछि मैकोट लाई केन्द्र बनाएर विद्यालयको सिफारिसमा छनोट भएका दलित, अत्यन्तै निम्न आयभएका, अभिभावक गुमाएका र आफन्तहरुको सहारामा बस्ने ३० जना बालबालिकाहरुलाई दिर्घकालिन आफन्तजन छात्रवृत्ति कार्यक्रम सुरु गर्दै आएकोमा गत दुइवर्षदेखि यो आफन्तजन छात्रवृत्ति कार्यक्रम पालिकाको ६ नम्बरमा पनि लागु भै १६ जना बिपन्न तथा जेहेन्दार बालबालिकाहरुले वार्षिक १० हजार राशिको आफन्तजन छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । यी बालबालिकाहरुको परिवारको दीगो आम्दानीको लागि गतवर्ष माउ बाख्रा पनि प्रदानगरिएको जनजागृति माविका प्रधानाध्यापक चेत कुमार सेनले जानकारी दिए । संस्थाले एक बिद्यालय एक पुस्तकालय कार्यक्रम अन्तर्गत हाल सम्म पुथाउत्तरगंगा गाउँपालिकाका वार्ड १,२,३,४,५ र ६ का सम्पूर्ण विद्यालय र वडा ९ नम्बर वडा को एक विद्यालयमा पुस्तकसहितको पुस्तकालय हरु सञ्चालनमा ल्याएको कर्मफ्लाइट्स फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिए ।