पर्वत, २ साउन
पर्वतको फलेवास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यसअघि कार्यरत प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद श्रेष्ठको स्थानमा उपसचिव नेत्र पौडेल हाजिर भएका हुन् । यहि साउन १ गते (आइतबार) हाजिर भएका पौडेललाई फलेवासका नगरप्रमुख, उपप्रमुख तथा कर्मचारीहरुले स्वागत गरेका छन् ।
कुश्मा नगरपालिका–८ चुवा स्थाई घर भएका पौडेल धादिङको निलकण्ठ नगरपालिकाबाट सरुवा भई फलेवास नगरपालिका आएका हुन् । यसअघि जिल्ला कारागार कुश्माको जेलर, पर्वतकै पैयुं गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत समेत भइसकेका पौडेलको करिव एक दशक लामो निजामती सेवाको अनुभव छ ।

आइतबारदेखि नै कार्यभार सम्हालेका पौडेललाई नगरप्रमुख गंगाधर तिवारीले नगरबासी आम जनताहरुको सेवकका रुपमा काम गर्न र नगरको चौतर्फि विकासका काममा सहयोग र सहकार्य गर्न अनुरोध गरे । उपप्रमख शोभा क्षेत्रीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकालको सफलताको कामना गर्दै नगरलाई समृद्ध नगर र शुखी नगरबासी बनाउन कर्मचारीहरुको पनि महत्वपुर्ण भूमिका हुने भएकोले त्यसको नेतृत्व गर्न आएका पौडेललाई नगरबासीको मन जितेर कार्यसम्पादन गर्न आग्रह गरिन् ।
कार्यपालिकाको कार्यालयमा सहभागि राजनीतिक दलका नगरस्तरिय नेताहरुले समग्र नगरको विकासमा जनप्रतिनिधिलाई सफल वा असफल बनाउने मुख्य भूमिका कर्मचारीको हुने भएकोले त्यसतर्फ पनि ख्याल गर्न आग्रह गरे । नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफु जन्मेहुर्केको र पर्वतका सबै क्षेत्रको भौगोलिक अवस्थाबारे जानकार भएकोले विकासनिर्माण र सेवाप्रवाहमा जनप्रतिनिधिलाई सघाउने र कार्यसम्पादन चुस्त रुपमा अघि बढाउने प्रतिवद्धता जनाए ।
