पर्वत : जनताले निर्वाचनको बेलामा उम्मेदवारलाई जितउने भनेकै आफ्नो गाउँठाउँको विकासको लागि हो । रोजगारी, स्वास्थ्य, शिक्षा, विकासका पूर्वाधार लगायतका क्षेत्रमा उत्तिकै विकास होस भन्ने अपेक्षा नागरिकमा हुन्छ । तर जब आसा गरिएको कुरा नेतृत्वबाट पूरा हुँदैन तब नागरिकमा बितृष्णा उत्पन्न हुन्छ ।
यसैको एउटा उदाहरण हुन पर्वतको मोदी गाउँपालिका–३ पूर्णगाउँका बासिन्दा । त्यहाँका झण्डै दुई दर्जन भन्दा बढी नेकपा (एमाले) का कार्यकर्ताहरु आफू रहेको पार्टीमा असन्तुष्टी व्यक्त गर्दै गठबन्धनका उम्मेदवारहरुको पक्षमा लागेका छन् । नेताहरुले गाउँको विकासका लागि आश्वसन दिएको भए पनि आफैले बोलेका कुराहरु पूरा गर्न नसकेको भन्दै उनीहरु वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा आएका हुन् ।
उनीहरुलाई गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेश सभा–१ का उम्मेदवार सुदीप कुंवर, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यद्वय गुप्त हमाल र मनहरि तिमिल्सिना, नेपाली कांग्रेसका नेता ललितकला गुरूङ लगायतले स्वागत गरेका छन् ।
यसैबीच, सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले सोमबार मोदी गाउँपालिका–८ चित्रेमा चुनावी अभियानका क्रममा घरदैलो तथा कोण सभा सम्पन्न गरेका छन् । कार्यक्रमा नेपाली काँग्रेस मोदी गाउँपालिकाका सभापति भिमप्रसाद लम्साल, उपसभापति तिलक पौडेल, चित्रेमा गठित संयुक्त गठबन्धन प्रचारप्रसार सदस्य तारा गुरुङ सहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सो अबसरमा बोल्दै गठबन्धनका उम्मेदवारहरुले पर्यटन र कृषि उत्पादनका हिसाबले महत्वपूर्ण रहेको मोदीको विकासको लागि आफूहरुले जनताको माग अनुसार काम गर्ने बताएका छन् । स्थानीय सम्भावनाहरुको पहिचान भएर पनि आवश्यक पूर्वाधार विकासको काम नहुँदा नागरिकले नेतृत्वको अभाव महसुस गरिरहेको भन्दै उनीहरुले मोदीको विकास र त्यहाँका आम नागरिकको दैनिकीलाई सहज बनाउन सकेसम्मको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमहरुमा सहभागी भएका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जोशी जिल्लाका अनुभवी र कुटननीतिक नेता भएका कारण बर्षौ अगाडि गाउँगाउँमा ट्रयाक खोल्ने काम भएको बताएका छन् । विकासको सुरुवात गर्नु नै विकासको पहिलो चरण रहेको र त्यो काम नेता जोशीबाट भएकाले यस पटक जोशी सहितका गठबन्धन उम्मेदवारहरुलाई विजयी गराउन आफूहरु तयार रहेको उनीहरुले बताएका छन् ।
