बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News शंकरपोखरीमा आयो लमायको पानी

शंकरपोखरीमा आयो लमायको पानी

नगरप्रमुख तिवारीले आफुले शंकरपोखरीमा खानेपानी ल्याउन वर्षौदेखि गर्दैआएको संघर्ष पुरा हुन लागेकोमा निकै खुशी लागेको बताउँदै अब घरघरै धारा पुर्याउन खटिने बताउनुभयो ।

by sambridhaonline
पुस्तौंदेखि खानेपानीका लागि कष्ट भोग्दैआएका फलेवास नगरपालिका–३ शंकरपोखरीबासीको सपना अब छिट्टै पुरा हुने भएको छ । लमायखोलाबाट करिव ७०० मिटर उचाईंमा लिफ्टिङ गरि मैदानस्थीत लिमिकोटमा पानी ल्याइएपछि फलेवासको २ र ३ नम्बर वडाका १३ सय ४१ घरधुरीमा पानी बितरण प्रकृया शुरु हुने छ । आज मंगलबार प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले लमायखोलास्थीथ दुरबुटीमा रहेको पानीका लागि जडान गरिएको विद्युत मिटरको स्वीच दबाएर मैदानस्थीत कोटमा पानी खसालेर खोलाको पानी शंकरपोखरीमा ल्याउने प्रकृया शुरु गर्नुभएको हो । आयोजनाको ट्याङ्की निर्माण, विद्युतिकरण, मुख्य पाइपलाइन बिस्तार लगायतको काम पुरा भएसंगै मंगलबार लमायखोलाको पानी मुख्य ट्याङ्कीमा परिक्षणका लागि खसालिएको हो ।
नगरप्रमुख गंगाधर तिवारीको लामो समयको दबाब र प्रेसरपछि उपभोक्ता समिति, खानेपानी डिभिजन कार्यालय बागलुङ, विद्युत प्राधिकरण लगायतले गत महिनादेखि आ–आफ्नो जिम्मेवारीको काम दतारुकताका साथ अघि बढाएका थिए । बिभिन्न निकाय बिचको समन्वय र सहकार्यको अभावका साथै बजेटको समेत कमीका कारण रोकिएको आयोजनाको काम नगरप्रमुख तिवारीको निरन्तरको ताकेतापछि गत महिनादेखि तदारुकताका साथ अघि बढेको हो । नगरप्रमुख तिवारीले आफुले शंकरपोखरीमा खानेपानी ल्याउन वर्षौदेखि गर्दैआएको संघर्ष पुरा हुन लागेकोमा निकै खुशी लागेको बताउँदै अब घरघरै धारा पुर्याउन खटिने बताउनुभयो ।
खानेपानी आयोजनामा भइरहेको ढिलाइप्रति गम्भिर चासो राख्दै नगरप्रमुख तिवारी गत महिना पानीको मुहान, निर्माणाधिन ट्याङ्की, विद्युतिय काम तथा अन्य प्रगतिबारे सम्बन्धित स्थानमै पुगेर केही दिन निरन्तर अनुगमन गर्नुभएको थियो । त्यसयता नगरप्रमुख तिवारी सम्बन्धित कार्यालय, बिभाग, मन्त्रालय लगायतमा निरन्तर धाएका कारण यो उपलब्धी हासिल गर्न सफल भएको र अब अन्य प्रकृया शुरु गरिने उपभोक्ता समितिका सचिव कमलप्रसाद भुषालले बताउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार परिक्षण सफल भएपछि पहिलो चरणमा पुरानो खानेपानी आयोजनाको लाइनमार्फत बितरण गरिनेछ । आयोजनाको मुख्य काम सकिए पनि घरघरै पाइपलाइन बिस्तार गरि उपभोक्तामा विद्युत मिटर सहितको धारा जडान गर्न अझै केहि समय लाग्ने उपभोक्ता समितिका सचिव कमलप्रसाद भुषालले बताउनुभयो ।
आर्थिक वर्ष २०७५/०७६ देखि शुरु भएको आयोजनाको १८ करोड ८८ लाख ८५ हजार रुपैया लागत स्टमेट गरिएको छ । आयोजनाबाट पाँच हजार ७२ उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अन्तर्गतको इकाई कार्यालय कुश्माका प्रमुख इन्जिनियर शिवकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चार करोड तीन लाख रुपैया मात्र खर्च भएको छ । आयोजनाको भौतिक तथा बित्तिय प्रगति २१.३४ भएको र बाकी काम गर्न बजेट अभाव भएको इन्जिनियर शाहले जानकारी दिनुभयो ।
प्रदेश सचिव कैनीले आयोजनाको काम अघि बढाउनका लागि कार्यविधिले मिल्नेसम्म बजेट थप गर्ने बताउनुभयो । ‘गण्डकी प्रदेशमा ७ प्रतिशत जनसंख्याले आधारभुत खानेपानी उपभोग गर्न नपाएको तथ्याङ्क छ । उनिहरु पिउने पानीका लागि प्राकृतिक मुहानकै भर पर्नुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘सोहि तथ्याङ्कभित्र यहाँ का उपभोक्ता हुनुहुन्छ । संबैधानिक अधिकारभित्रै पर्ने यो आवश्यकता पुरा गर्न मेरो तर्फबाट सक्दो सहयोग गर्छु ।’
प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले २०७५ फागुनमा लमायखोला लिफ्ट खानेपानी आयोजना शुरु गरेको थियो । बजेट अभावका कारण उक्त आयोजनाको पानी पनि बस्तीसम्म ल्याउन समस्या परेको थियो । विद्युत प्राधिकरण लगायतका बिभिन्न निकायसंग समन्वय र सहकार्य गरि काम अघि बढाउनुपर्ने भएकोले आयोजनाको काम केहि ढिलाई भएको उपभोक्ता समितिले जनाएको छ । लमायखोलाको पानी मैदानमा ल्याएर घरघरै बितरण हुने भएपछि पुस्तौंदेखिको समस्या सहज हुने भन्दै उपभोक्ताहरु खुशी भएका छन् । शंकरपोखरीकी चित्राकुमारी क्षेत्रीले पानीकै लागि घण्टौं यात्रा गर्नुपर्ने र दिनभर समय व्यतित गर्नुपर्ने अवस्थाको अन्त्य हुन लागेकोमा खुशी लागेको बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline